११ पुष २०७४, मंगलवार

काठमाडौँ, ११ पुस  । यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै घोषणा उहाँले गर्नुभएको हो तर ती कुनै पनि विवादरहित भने बन्न सकेनन् ।

अघिल्ला वर्षहरुजस्तै अमेरिकामा सन् २०१७ मा पनि राजनीतिक र कूटनीतिक दाउपेचले निरन्तरता पायो । त्यसमा पनि विश्वको सबैभन्दा शक्तिशाली मानिएको अमेरिकी राष्ट्रपति चर्चाको शिखरमा रहनु स्वाभाविकै हो । अमेरिका सधैँजसो चर्चाको विषय नै बन्ने गरेको भए तापनि यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै क्रियाकलापले गर्दा अमेरिका थप विवाद र चर्चाको विषय बन्न पुग्यो ।

अर्बपति राष्ट्रपति

अमेरिकाले आफ्नो इतिहासमा पहिलोपटक एकजना अर्बपति राष्ट्रपति पाएको कुराले पनि विश्वमा चर्चा भएको हो । रिपब्लिकन पार्टीबाट उम्मेदवार भएका अमेरिकाका नामी अर्बपति डोनाल्ड ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो । त्यसो त निर्वाचनअघि कैयौँ सर्वेक्षणहरुमा अमेरिकी पूर्व विदेशमन्त्रीसमेत रहेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन भावी राष्ट्रपतिका रुपमा हेरिएको थियो ।

अमेरिकी चुनावमा रुसको हात

सन् २०१६ को नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि सर्वाधिक समय र स्थान पाएको थियो । अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायले नै ठोकुवा गरेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एउटा गुप्त साइबर अभियान नै चलाएको व्यक्तिगतरुपमा आदेश दिएको खुलासा गरेको थियो ।

‘मिडिया’ ट्रम्प वाकयुद्ध

आफ्नै नीतिका कारण कहिले विवाद त कहिले चर्चामा आउने गरेका अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचनको समयमै अमेरिकी मिडियाको तारो बन्नुभएको थियो । किनभने उहाँले निर्वाचन जित्ने अनुमानको समाचार लगभग अमेरिकाका कुनै पनि मिडियाले दिएका थिएनन् । अमेरिकालगायत अन्तर्राष्ट्रिय मिडियाले उहाँलाई सधैँ पराजयको श्रेणीमा राखेका थिए । त्यसैले उहाँले अमेरिकी मिडियालाई नै फेक मिडियाको उपाधि दिनुभएको हो । अमेरिकी इतिहासमा नै पहिलोपटक मिडिया र राष्ट्रपतिको बीचमा यस्तो सम्बन्ध रहेको थिएन । तर ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा आएपछि अमेरिकी इतिहासमा नै मिडिया फेक भएको आरोप लाग्यो, जुन कुरा अमेरिकी मिडियाले अहिले पनि चुपचाप सहेका छन् तर विवादको अन्त्य भने भएको छैन ।

मुस्लिम देशले पाएनन् प्रवेश

अमेरिकी राष्ट्रपतीय चुनावको प्रमुख एजेण्डा आतङ्कवादविरुद्ध लड्ने प्रतिबद्धता रहेको थियो । ट्रम्पको कतिपय आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिरी विश्वमा पनि तरङ्ग ल्यायो । सबै मुस्लिम समुदायलाई आतङ्ककारीको कोटिमा राख्नु अराजकता निम्त्याउनु मात्र हो भन्ने तर्क गर्दै अमेरिकी र अरु विश्वका अधिकारवादीहरुले पनि मुस्लिम समुदायका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको विरोध गरेको थियो ।

 

इजरायलमा एक्लियो अमेरिका

इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णयले उसलाई विश्व समुदायबाट नराम्ररी एक्ल्याएको छ । राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गर्नुभएको थियो । तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो । यो मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ मा मतदान नै भयो । जसमा अमेरिकाको सो निर्णयका विपक्षमा विश्वले जनमत प्रकट ग¥यो । अमेरिकाको इतिहासमा यसरी अमेरिका विश्व राजनीतिमा एक्लिएको सायद यो नै पहिलोपटक हुनुपर्छ ।

कता बन्दैछ त पर्खाल ?

राष्ट्रपति ट्रम्पले चुनावअघि व्यक्त गरेका कतिपय प्रतिबद्धतालाई वास्तवमा प्रायः असम्भव नाराका रुपमा लिइएको थियो । यो तथ्यलाई स्वयं अमेरिकीले मात्र नभएर विश्वका अरु देशका राजनीतिज्ञ र जनताले पनि विश्लेषण गरिरहेका थिए । कुनै एक देशले खुल्ला सिमाना भएको आफ्नो अर्को छिमेकीका विरुद्धमा लामो सीमाक्षेत्रभर ठूलो पर्खाल नै लगाएर एक अर्काकोे देशमा आवतजावत प्रवेश नै गर्न नदिनेजस्ता निर्णय कार्यान्वयन गर्न अति कठिन विषय हो । राष्ट्रपति ट्रम्प भने निर्वाचन जितेलगत्तै अब मेक्सिकोको सीमामा पर्खाल ठड्याउने कामको थालनी गरिहाल्ने जस्तो गरी अभिव्यक्ति दिनुभएको थियो । त्यसका लागि उहाँले प्रथमतः पर्खाल बनाउँदा लाग्ने लागत खर्च छिमेकी मेक्सिकोलाई नै व्यहोर्न लगाउने ट्रम्पको निर्णय रहेको थियो । मेक्सिकोबाट यसको व्यापक विरोध भयो । पर्खाल बनाउने ट्रम्पको निर्णय लागू हुन सकेन । अहिले अमेरिकीहरु व्यंग्यका रुपमा भन्ने गर्छन् कि– ‘कताबाट बन्दै छ पर्खाल ?

 

 

 

LIVE TV