११ पुष २०७४, मंगलवार

अर्घाखाँचीमा शनिवार एक युवतीको रहस्यमय रुपमा मृत्यु भएको छ । र यो दृष्य उनै मृत युवतीको । गाउँमा सुन्दरी नामले परिचित भुमिकास्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी उनी हुन् समिता नेपाली ।

उमेरले भर्खरै १७ बर्ष पुगेकी उनी शनिवार भुमिकास्थान नगरपालिका वडा १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ । र यो दाह संस्कार गर्न लगिएको बेलाको दृष्य हो ।

दाहसंस्कारका लागि जोजति जम्मा भएका थिए, सबैको मनमा एउटै असन्तुष्ट भाव थियो कि समिता नेपालीले आत्महत्या गरिन् वा यो हत्या हो ? यी प्रश्नहरुको वीचमा धेरै कारणहरु थियो ।

उनी मृतक समिताका भिनाजु हुमबहादुर नेपाली । उनी समिताले झुण्डिएर आत्माहत्या गरेको कुरा पत्याउनै नसक्ने बताइरहेका थिए । त्यस्ता आधारहरु जसमा, जुन मन्दिरको बलेसीमा समिता झुण्डिइन् त्यस मन्दिरको वलेसी ५ फिट भन्दा बढि छैन । त्यो भन्दा अग्ली समिता छिन् ।

उनको घुँडा पहिल्लै नुगाईएको र थप डोरी भुँईमापनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । सोही कारण हुमबहादुर भनिरहेका थिए घटनाको प्रकृति अनुसार उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्ड्याईको हो भन्ने दावी छ ।
यी आशंका र आरोपहरुको पछाडी पनि केही त्यस्ता तथ्य र रहस्यहरु जोडिएका छन् ।

मृत समिता एकबर्ष अघि स्थानीय युवकबाटै बलात्कारको सिकार भएकी थिइन् । २०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर स्थानवाङलाको आँमडाँडा तर्फ जाँदै गर्दा भुमिकास्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका स्थानीय राजु अधिकारीले मोटरसाईकलमा पुराईदिन्छु भनेर चढाएका थिए ।

केहीबेरमा राजुले समितालाई नास्ता गरेर जाउँला भन्दै सन्धीखर्कको होटल डायमण्डमा पुराएका थिए । समिताले प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई राजुले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए ।

घटनाको ३ दिन पछि माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता भएको थियो । त्यस लगत्तै आरोपी राजु अधिकारी हाल सम्म फरार छन् । राजुलाई प्रहरीले यहि पुष ६ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर संयोग सोही दिनको १ दिनपछि समिता मृत भेटिएन् । सोही कारण नै आफ्नी छोरीको हत्या भएकोे दावी सहितको आरोप समिताका बुबा विष्णुबहादुर नेपालीको छ । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाएका छन् ।

त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँछन्, सोही वडाका वडा सदस्य जनकलाल गैरे ।

आफन्तजन र अधिकारकर्मीहरुले पनि सुनियोजित रुपमा उनको हत्या गरिएको आशंका गरेका छन् ।

यसरी हराएकी थिइन् समिता

वलात्कार पछि गाउँमा असुरक्षित महशुस गरि परिवारले समितालाई ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाएका थिए । हाल उनी ललितपुर स्थित एक कलेजमा कक्षा ११ मा पढ्दै आएकी थिइन् । विहिवार सदा झैँ विहान पौने ६ वजेतिर समिता कलेज जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । कलेज जान्छु भनेपनि समिता आउट डे«समा हिडेकी थिईन् ।

तर उनी घर फर्किनन् , बरु दिउँसो ११ वजेतिर समिताले दिदी मिनालाई फोन गरेर म अर्घाखाँचीकै एक जना केटासंग विवाह गरेर ईन्डिया तिर जाँदैछु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । समिताको यस कुरालाई दिदि मिनाले पत्याइनन् र किन ठट्टा गर्छेस छिटो घर आइज भनेर फेरी फोन गरेकी थिईन् । लगतै समिताको फोन स्विच अफ भयो । र त्यसपछि उनी सम्पर्कविहिन भएकी थिईन् । यस सम्वन्धमा हामीले ललितपुर स्थित उनै मिनासंग टेलिफोन सम्पर्क राखेका थियौं । मिनासंगको टेलिफोन कुराकानी यस्तो छ ।

मिनासंगको अडियो कुराकानी

मिनाले अर्घाखाँचीकै एक केटासंग विवाह गरी इन्डिया जान लागेको बताएपनि उनको यसअघि कसैसंग मायाँ प्रेमेको सम्बन्ध नरहेको दिदि मीनाले बताएकिछिन् । वलात्कृत भए देखि उनी निकै सजग थिइन् र यस्तो विषयमा डर पनि थियो उनमा । तर एकाएक गाउँकै एक जंगलमा झुण्डिएको अवस्थामा मृत अबस्थामा कसरी पुगिन् समिता ? यो घटना रहस्यमय बनेको छ र परिवारले उनको हत्या भएको दावी गर्दै छानविन गर्न प्रशासन समक्ष माग गरेको छ ।

 हत्या की आत्महत्या निपष्क्ष छानविन होस्

शनिवार मृत फेला परेकी समिताको घटनाले अहिले पुरा गाउँ नै शसंकित बनेको छ । गाउँमा भएका सबै युवतीहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन । संगै हुर्केको, खेलेको, पढेको र बढेको साथी कुनै पुरुषबाट बलात्कृत हुन पुग्छिन र त्यसको एक वर्षमा जङ्गलको बिचमा रहेको मन्दिरको दलिनमा झुण्डिएको अवस्थामा मृत फेला पर्छिन भने अन्य युवतीहरुले आफुलाई सुरक्षित महसुस कसरी गर्ने र उनीहरुले पुरुषहरुलाई कसरी विश्वास गर्ने ?

जुन अवस्थामा समिता मृत फेला परेकी छिन त्यो अवस्थालाई नियाल्ने हो भने यो आत्महत्या हो भनेर पत्याउन सकिने आधार निक्कै कमजोर छ । र परिवारले पनि यही भनिरहेका छन की यो आत्महत्या होइन हत्या हो । समिताका परिवार र आफन्तहरुले एक वर्ष अगाडी उनलाई बलात्कार गर्ने राजु अधिकारी ले नै उनको हत्या गरेको आरोप लगाएका छन ।

र परिवारसंग यस्तो आरोप लगाउने आधारहरु पनि नभएका होइनन् । जुन मन्दिरमा समिता झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन त्यो मन्दिरको भुईँ देखि मन्दिरको दलिनसम्मको उचाई समिताको उचाई भन्दा कम छ । र उनी घुँडा टेकिएको अवस्थामा भेटिएकी छिन । आफुभन्दा सानो उचाईमा त्यो पनि घुँडा टेकेर मानिस कसरी मर्छ भन्ने प्रश्न सहित उनीहरुले यो आत्महत्या नभई हत्या हो भनिरहेका छन ।

र अर्को कुरा आत्महत्या गरेको हो भने डोरीको गाँठो सुर्केनी परेको हुन्छ र त्यो गाँठो पछाडी पट्टी घाँटीमा हुन्छ । तर प्रत्यक्षदर्सीको भनाईलाई आधार मान्ने हो भने सुर्केनी नपरेको गाँठो समिताको अगाडी घाँटीमा छ र घाँटीमा लागेको उक्त डोरी पनि निकै खुकुलो छ । ललितपुरको मानिस किन फेरि अर्घाखाँची पुगेर आत्महत्या गर्छ भन्ने अर्को ज्वलन्त प्रश्न परिवारको मनमा उब्जिएको छ । बलात्कारको शिकार भएको एक बर्षपछि जीवनलाई अगाडि बढाउँदै लगेकी समिता नेपालकोको वारेमा गभ्भीर अनुसन्धान गरिनुपर्ने अवस्था छ ।

एक वर्ष अगाडी समिताको ईज्जत माथी दाग लगाउने राजु अधिकारी अझैसम्म पनि फरार रहेका छन । प्रहरीले उनको खोजी कार्य भैरहेको जनाएपनि अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको छैन । र अहिले परिवारले भने उनकै षड्यन्त्रमा समिताको हत्या भएको आरोप लगाएका छन । अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोइरालाले घटनामा कसैको संलग्नता रहेको नरहेको विषयमा अनुसन्धान भईरहेको बताउँछन् ।

बलात्कारको घटनापछि शोकमा डुवेको समिताको परिवारमा उनको मृत्युपछि अहिले अर्को बज्रपात परेको छ । यो विषयमा परिवारका सदस्य आत्महत्या नभएर हत्या भएको दावी गरिरहेका छन र दोषीलाई तत्काल कारवाही गर्न माग गरिरहेका छन । परिवारका सदस्यको दावी र घटनाको प्रकृतीले पनि गम्भिर अनुसन्धान गर्नुपर्ने आवश्यक देखिन्छ ।

 

LIVE TV