११ पुष २०७४, मंगलवार

बसन्त खतिवडा

नेपाल–भारत सीमा रक्सौलमा डष्टी कार्गो लोडअनलोडमा देखिएको समस्या समाधान गर्न दुई पक्षको बैठक बसेको छ । पर्साको वीरगञ्जमा बसेको बैठकले निकास निकाल्ने बताइएको छ ।

भारतीय रेल्वेको रक्सौल यार्डमा हुँदै आएको डष्टी कार्गो लोडअनलोड बन्द हुनुपर्ने भन्दै भारतीय शहर रक्सौलका स्थानीयहरुले विरोध जनाएपछि समस्या सुरु भएको हो । समाधानका लागि नेपालको वाणिज्य मन्त्रालय र भारतीय रेलका उच्च अधिकारीहरु द्विपक्षीय बैठकमा सहभागी छन् । क्लिङ्करको समस्या समाधान भएपनि रक्सौलमा अनलोड हुने कोइला, फ्लाईयास, जिप्सन, स्ल्याग लोड अनलोडका कारण प्रदुषण फैलिएको भन्दै रक्सौलका स्थानीयहरुले सोमवार नाकामा धर्ना दिएका थिए ।

बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र रक्सौलको प्रशासनले समस्याको समाधानका लागि सरकारी स्तरमा पहल भईरहेकाले चाँडै विकल्प खोजिने आश्वासन दिएपछि धर्ना टुङ्गिएको थियो । रक्सौलमा डष्टी कार्गो लोडअनलोडका कारण प्रदुषण बढेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रक्सौलका बासिन्दाले सोमवारदेखि नाका बन्द गर्ने घोषणा यस अघि नै गरेका थिए ।

LIVE TV