११ पुष २०७४, मंगलवार

विनय तिम्सिना

इलाम । मोतिया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाम सदरमुकाममा सोमबारबाट सुरु भएको छ । नेपाल नेत्रज्योति संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा शिविर सुरु भएको हो ।

तीन दिन सम्म सञ्चालन हुने शिविरमा जिल्लाका सात स्थानबाट छनौट भइ आएका मोतिया बिन्दु भएका विरामीहरुको शल्यक्रिया गरिने छ । जिल्लाका सोयाक, शान्तिडाँडा, साखेजुङ, पुवामझुवा, वरबोटे र सुम्बेकमा आँखा परीक्षण तथा निशुल्क शिविर सञ्चालन गरि मोतिया बिन्दु भएकाहरुको छनौट गरिएको नेत्रज्योति संघ इलामका सचिव बिष्णु कार्कीले जानकारी दिनुभयो ।

शिविरमा बिराटनगर आँखा अस्पतालका डाक्टर मनिष पाण्डे नेतृत्वको टोलीले शल्यक्रिया गर्ने छ । शिविरमा एक सय वढीको शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ । तीन दिन सम्म चल्ने शिविरबाट समेत मोतिया बिन्दु भएका विरामी छनौट गरि शल्यक्रिया गरिने सहसचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो । सदरमुकामको शिविर सम्पन्न भएपछि जिल्लाको पूर्वी क्षेत्र सूर्याेदय नगरपालिकामा समेत शिविर आयोजना गरिने सहसचिव भट्टराईले बताउनुभयो ।

उमेर बढेसँगै मानिसमा मोतिया बिन्दु हुने डाक्टर पाण्डेको भनाई छ । उहाँले मोतीया बिन्दुको निश्चित औषधि समेत नभएको वताउँदै उत्तम बिकल्प भनेको शल्यक्रिया नै भएको जानकारी दिनुभयो ।यसैबीच नेत्रज्योती संघ इलामको पहलमा इलाम अस्पतालमा आँखा जाँच गर्ने आधुनिक औजार समेत ल्याइएको छ । जापानी प्रविधिबाट निर्मित यस औजार दश लाख रुपैयाँमा खरिद गरिएको वताइएको छ । यस मेशिनको समेत सोमबार नै औपचारिक उद्घाटन गरिएको छ ।

LIVE TV