११ पुष २०७४, मंगलवार

भद्रपुर । सम्बन्धित निकायको पहल र निगरानीको कमीका कारण सन् २०१७ भित्र झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान असफल हुने देखिएको छ ।

जिल्ला सरसफाइ समितिको पछिल्लो प्रगति विवरणअनुसार १४ प्रतिशत झापाली अझै पनि चर्पीविहीन रहेपछि अभियान असफल हुने भएको हो । यसमध्ये झापाका दक्षिणी क्षेत्रका साविकका गाविस पाठामारी, गौरीगञ्ज र खजुरगाछीमा २५ प्रतिशत घरधुरीले मात्र चर्पी निर्माण गरेका छन् भने अन्य चौरी या खोला किनारमा शौच गरिरहेको अवस्था छ ।

अन्य गाविसको अवस्था हाल पनि सकारात्मक बनिनसक्दा अभियानले पूर्णता पाउन नसक्ने निश्चित भएको हो । यसैगरी, अभियानमा शहरी क्षेत्र पनि चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकारको योजना झापामा सफल हुन नसक्ने देखिएको छ । १५ स्थानीय तह रहेको झापामा कार्यक्रम लागू भएको चार वर्षे अवधिमा आठवटा स्थानीय तहमा मात्र पूर्णरुपमा खुला दिसामुक्त भएको कागजी विवरण झापा जिल्ला सरसफाइ समितिमा देखिन्छ ।

बाँकी रहेका सातवटा स्थानीय तहका केही वडा पछिल्ला दुई महिनामा खुला दिसामुक्त क्षेत्रका रुपमा थपिँदै गएपनि सबै स्थानीय तह खुला दिसामुक्त नहुने अवस्था रहेको छ ।  यस आधारमा पनि तोकिएको समयमा झापा जिल्ला कागजीरुपमा भएपनि खुला दिसामुक्त हुने संकेत देखिएको छैन । हुन त सरकारले स्थानीय तहमार्फत चर्पी नभएका घरधुरीलाई सेवा सुविधा नदिने घोषणा गरेको भए पनि राजनीतिक हस्तक्षेप र नियम पालनामा स्थानीय तहका नेतृत्वकर्ता असफल हुँदा अभियानमा सफलता हात नपरेको दातृ निकायका प्रतिनिधि बताउने गर्छन् ।

झापा जिल्लाका ३० हजार हाराहारी घरधुरी चर्पीविहीन रहेकामा दुई महिनाको अवधिमा आठ हजार घरधुरीले चर्पी निर्माण प्रक्रिया शुरु गरेपनि अन्यको अवस्था अज्ञात छ ।  समग्र झापाको विवरण हेर्दा ८४ प्रतिशत घरधुरीमा चर्पी निर्माण भएको भए पनि १४ प्रतिशत घरधुरी चर्पीविहीन अवस्थामा छन् । सदरमुकामसमेत रहेको झापाको भद्रपुर नगरमा मात्र दुई हजार ३०० घरधुरी चर्पीविहीन रहेका छन् ।

आदिवासी जनजातिको बाहुल्य रहेको भद्रपुर नगरमा राजवंशी, गन्गाईलगायतका समुदायमा ४० प्रतिशतभन्दा बढी घरधुरीमा शौचालय रहेका छैनन् ।  यी समुदायका व्यक्ति आर्थिकरुपमा कमजोर, सुकुम्बासी र परम्परागत सोचका कारण शौचालय निर्माणमा ध्यान नदिँदा खुला दिसामुक्त अभियान असफल भएको हो ।

भद्रपुर नगरका साविक पृथ्वीनगर, महेशपुर बढी शौचालय नभएका ग्रामीण बस्ती क्षेत्र हुन् भने साविक भद्रपुर का वडा नं १, २, ३, ४ पनि शौचालय नहुने समुदायको बस्ती बाक्लो भएको क्षेत्रमा पर्दछन् भने साविक चन्द्रगढीका सुकुम्बासी बस्ती पनि चुनौतीका रुपमा रहेको पाइएको छ । शौचालय बनाउन आनाकानी गर्ने परिपाटीमा अनुदानको मात्र भरपर्ने, आफ्नो जग्गा नहुने, अर्काको जग्गामा बसोबास गर्नेजस्ता कारण मुख्य चुनौती रहेको खुला दिसामुक्त भद्रपुरका कार्यक्रम अधिकृत फणीन्द्र दाहालको भनाइ छ ।

महेशपुरस्थित बुधकरण टी स्टेटले राखेका मजदुरलाई सञ्चालकले चर्पी बनाउन नदिँदा साविक महेशपुरमा १५० घरपरिवारको चर्पी निर्माण हुन नसकेको पाइएको छ ।

चिया बगान तथा उद्योग क्षेत्रमा चर्पीविहीन बस्ती राख्ने परम्पराले पनि भद्रपुर नगरलाई खुला दिसामुक्त हुन चुनौती देखिएको छ । चर्पी बनाउन नसक्ने परिस्थितिभन्दा पनि, कसैले बनाइदेला भन्ने आशमा बसेर यो समस्या आएको हो, यो क्षेत्रमा कार्यरत सहजकर्ताको भनाइ छ । उनीहरुको भनाइअनुसार सामग्री वितरण भएपश्चात अनुगमन हुन सकेन, सहजीकरण र चेतना फैलाउने काम भएन र अभियानले सफलता लिन सकेन । वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गर्ने जिम्मा लिएको भए काम छिटो हुन्थ्यो कि भन्ने स्थानीयको बुझाइ छ ।

झापा जिल्ला सरसफाइ समितिका फोकल पर्सन रुद्रबहादुर न्यौपानेका अनुसार आव २०६८ बाट राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियान झापामा विसं २०७० बाट अभियानका रुपमा शुरु भएको हो । यो अभियान पूर्णरुपमा अहिलेसम्म आठवटा स्थानीय तहमा मात्र पूरा भएको छ । झापाका साविक गाविस पाठामारी, खजुरगाछी, गौरीगञ्ज गाविस २५ प्रतिशतभन्दा बढी घरधुरीका शौचालय बन्न नसकेका चुनौती क्षेत्र हुन् । सरकारले पाँच वर्षभित्र नेपाललाई खुला दिसामुक्त बनाउने लक्ष्यका साथ काम शुरु गरेको भए पनि अवधि पूरा हुने सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा नहुने निश्चित भएको छ । रासस

LIVE TV