१० पुष २०७४, सोमबार

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आगामी वाम गठबन्धनको सरकार सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउनुभएको छ ।

यशु ख्रिस्टको जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ, नेपालद्वारा आज यहाँ आयोजित सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नयाँ सरकारले निर्वाचनमा भएको हार र जीतको विषयलाई छाडेर सबैलाई साथमा लिएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, “विकास र समृद्धिलाई केन्द्रविन्दुमा राख्दै नेपाली भएकामा गौरव गर्ने, सबैप्रति मर्यादा कायम गर्ने, कसैप्रति भेदभाव र आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा आगामी सरकारले ध्यान पु¥याउने छ ।

मुलुकको विविधताको सम्मान गर्न धर्म निरपेक्षको घोषणा गरिएको बताउँदै उहाँले सबै जातजाति, धार्मिक समुदायको मूल भावनाको कदर गरी मुलुक सबैको साझा हो भन्ने भावनाले मिलेर बन्ने नेपाल र नेपालीको साझा पहिचान र विशेषता भएको धारणा राख्नुभयो ।

सो अवसरमा रक्षामन्त्री भीमसेन दास प्रधानले मुलुकको राजनीतिक परिवर्तनका लागि भएको विभिन्न आन्दोलनको उपलब्धिका रुपमा प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले मलजल गरेर हुर्काउनुपर्छ भन्नुभयो ।

“नेपाली जनताको अहिलेको चाहना भनेको सुशासन र आर्थिक समृद्धि रहेकाले मुलुकलाई त्यसतर्फ लैजाने मार्गमा सबै राजनीतिक दल एकमत हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का नेता गंगालाल तुलाधरले समाजमा रहेका सबै खाले विचार र आस्थाले समान रुपले सम्मान पाउनुपर्छ भन्नेमा राजनीतिक दल र सरकार सजग रहनुपर्छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधानको पूर्ण कार्यान्वयनसँगै समृद्धि र विकासमा अघि बढ्न यशुलगायत सबैबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका युवानेता रामहरि खतिवडाले निर्वाचनको परिणाममा हार–जीत भए पनि मुलुक बनाउने मार्गमा सबैको जीत होस् भने कामना व्यक्त गर्नुभयो ।

आयोजक संस्था राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले मुलुकमा १२ हजारको सङ्ख्यामा चर्च रहेको र ११२ भन्दा बढी मुलुकमा रहेका÷बसेका नेपालीले क्रिसमसलाई हर्षाेल्लासका साथ मनाउने गरेको बताउनुभयो ।

नेपाललाई सबै जातजाति, भाषा, धर्म र समुदायको साझा फूलबारी बनाउने सन्दर्भमा क्रिसमसमा राष्ट्रिय बिदा दिने परम्पराको थालनी गरेकोमा उहाँले नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपाललाई विभिन्न कोणबाट सहयोग पु¥याएबापत उक्त संस्थाका तर्फबाट पूर्वप्रधानमन्त्री नेपाल र रक्षामन्त्री प्रधानलाई सम्मान गरियो ।

समारोहमा संस्थाका सहअध्यक्ष पास्टर डा फिलोमोन क्षत्रीले यशुसम्बन्धी प्रवचन तथा कलाकारले यशु बन्दना र नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको उपलक्ष्यमा पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

LIVE TV