१० पुष २०७४, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले एनसेललाई लाभांशवापतको रकम विदेश लैजान बाटो खोलेसँगै तत्काल २५ अर्ब आठ करोड रुपैयाँ बाहिरिने देखिएको छ । कम्पनीले आर्थिक वर्ष ०७२ / ७३ को लाभांश लैजान समस्या परेको बताउँदै अदालतमा मुद्दा दायर गरेको थियो ।

ठूला करदाता कार्यालयका उपप्रमुख षडानन्द गुरुङका अनुसार उक्त आवको लाभकर र स्वदेशी लगानीकर्ताले पाउनुपर्ने रकम कटाएर ६ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश लैजान पाउने छ । सोही नजिरमा टेकेर थप १९ अर्ब रुपैयाँ पनि उक्त कम्पनीले विदेश लैजान पाउने छ ।

दुवै हिसाब गर्दा २५ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश पुर्‍याउन लागेको हो । करअघिको कुल लाभांश आठ अर्ब पाँच करोड रुपैयाँ थियो । कम्पनीले गत कात्तिकमा आव ०७३/७४ को पनि वार्षिक साधारण सभा गरेको थियो । सोही साधारण सभामा उक्त आवको लाभांश २५ अर्ब रुपैयाँ घोषणा गरिएको थियो ।

कम्पनीको सञ्चित खातामा भने ७५ अर्ब रुपैयाँ छ । ठूला करदाता कार्यालयले स्विडेनको टेलियासोनेराले आजियटालाई स्वामित्व बिक्री गर्दा कायम भएको पुँजीगत लाभकरसमेत कम्पनीले तिर्न बाँकी रहेकाले लाभांश रोक्दै आएको थियो ।

हालसम्म लाभकरवापत ६१ अर्ब रुपैयाँ तिनुपर्ने देखिएकामा एनसेलले नै २४ अर्ब तिरेको थियो । बाँकी रकम उठ्न सकेको छैन ।

LIVE TV