१० पुष २०७४, सोमबार
  • गोविन्द कुँवर,

अछाम । अछामका महिलाहरुले सडकको ग्राभेल गर्ने जस्तो जटिल काम सजिलोरुपमा गरिरहेका छन् । घरको जिम्मेवारी पूरा गर्ने पुरुष नै नभएपछि घरको प्रमुख जिम्मेवारी महिलाहरुकै काँधमा आईलागेको छ ।

file picture

 

परिवारको पाल्न पोषण घरखर्च र हेरबिचार समेत महिलाकै भागमा परेपछि उनीहरु अहिले सडक छेउमा बसेर गिट्टी कुट्दै गुजारा गर्न बाध्य भएको छ ।

महिलाहरुको व्यथा एउटै छ – उनीहरुको कसैको पनि श्रीमान छैनन्

४ वर्ष पहिले मंगलसेन नगरपालिका ५ कि भाना सुनारको श्रीमानको निधन भयो । श्रीमानको निधन भएपछि भानालाई ठुलो संकट आईलाग्यो । एक तिर श्रीमानको मूत्युको पीडा,अर्को तिर साना बालबालिको पाल्न पोषण घरखर्च र हेरबिचारको पुरै जिम्मा भानालाई ठूलो पहाड झै बनेर आयो ।

श्रीमानको निधन पछि भानालाई न घर परिवारको सहयोग नै मिल्यो,नत कुनै पराईको सदभाव नै । भानालाई दिन प्रति दिन झन झन दुःख थपिदै गयो । भानाका २ छोरा २ छोरी गरि ४ जाना छोरा छोरी छन् ।

उनिहरुको पालनपोषण,घरखर्चदेखि पढाई लेखाईको व्यवस्थापन गर्न भानालाई भाउन्न हुन थाल्यो । न त कुनै ब्यापार व्यवसाय न त कमाई खाने जग्गा जमिन नै छ । यति नभएपछि भानाले छोरा छोरी पढाउन लेखाउनको लागि र घरखर्च चलाउनको लागी सडकमा गिटी कुट्ने जस्तो जटिल काम भानाको रोजाई बन्यो ।

विहान १० बजे देखि साँझ ५ बजे सम्म सडकको काम गरि आफनो जीवन चलाई रहेकी छन् । तर दिनको त्यस्तो जटिल कामको ज्याला पनि दिनको ४ सयमात्र रहेका पनि बताईन । दैनिक ज्याला ४ सय मात्र भएपनि समयमा नै पैसा नपाउने भएका कारण आफुलाई जीवन चलाउन गाह्रो भएको भानाको भनाई छ ।

भानासंग मिल्दोजुल्दो दुःख पीडा पार्वती सुनारको पनि छ । उनी पनि गिटी कुट्ने काम पाएसम्म त्यही गर्ने नभएको बेला कसैका लुगा धुने ,दाउरा बोक्ने, धान कुट्ने काम गरेर घरखर्च चलाउने गर्दै आएकी छिन् ।

यस रामारोशन पर्यटक राजमार्गमा श्रीमान नभएका ३ जना महिलाहरुले निरन्तर काम गर्दै आएका छन् । काम समय भएता पनि आफुले पाउने मजदूरी रकम पनि समयमा नपाउँदा आफुलाई गाह्रो हुने गरेका पनि पार्वतीको दुखेसो छ । रामारोशन पर्यटक राजमार्गमा काम गर्ने ३ /४ जना महिलाहरुको व्यथा एउटै छ – उनीहरुको कसैको पनि श्रीमान छैनन् ।

 

LIVE TV