१० पुष २०७४, सोमबार

प्रदीप

प्रदेश प्रमुख नियुक्ति हुन नसक्दा प्रदेशसभाका सांसदहरुलाई सपथ कसले गराउने र संसद कहाँ राख्ने भन्ने अन्यौल छाएको छ । निर्वाचन आयोगले प्रदेश सभाको समेत सिट संख्या टुंगो लगाइसक्दा समेत सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नतोक्दा बैठक बस्ने स्थानको अन्यौलता बढेको हो ।

निर्वाचन परिणामसँगै प्रतिपक्षीले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी नयाँ सरकारले गर्ने भन्दै कामचलाउ सरकारले गठन गर्न नमिल्ने जनाएपछि प्रदेश प्रमुख र राजधानीको विवाद कायमै रहेको छ । निर्वाचनको परिणामपछि सरकारले राजनीतिक सहमतिको आधारमा अस्थायी राजधानी तथा प्रदेश प्रमुख तोक्नेबारे पहल गर्नुपर्नेमा सरकारको नेतृृत्व गरिरहेको नेपाली काँग्रेसको सक्रियता समेत नहुँदा समस्या थप बढ्दै गएको छ ।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र अधिवेशन आव्हान र ३५ दिनभित्र सरकार गठन गरि सक्नुपर्ने संवैधानिक बाध्यता रहेपनि अहिलेसम्म बैठक स्थल र शपथ गराउने प्रदेश प्रमुखको नियुक्ति हुन भने सकेको छैन । एक साताभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकिए थप संकट उत्पन्न हुने आयोगको भनाई छ ।

LIVE TV