१० पुष २०७४, सोमबार

काठमाडौं । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ ।

विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडांै उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।

स-साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् । उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स-साना धुलोको कण फोक्सो हँुदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ ।,समाचार आजको अन्नपुर्ण पोस्टले लेखेको  छ ।

त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सक करवीरनाथ योगीले धुलो खाँदा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा असर पुग्ने गरेको बताए । बिहान र बेलुकी कार्यालय समयमा प्रदूषणको दर बढी हुने गर्छ । सवारी चाप बढी हुँदा जाम हुने र धुलो बढी हुने गरेको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे सवारी प्रदूषण नियन्त्रणमा कढाइसाथ काम भइरहेको जिकिर गर्छन् । सरकारी अधिकारीको जिकिर एकातर्फ भए पनि वायु प्रदूषण दर दैनिक बढ्दो क्रममा देखिएको छ । बढ्दो दरलाई घटाउन राज्यले तात्कालिक र दीर्घकालीन नियन्त्रणमा पहल गर्न सकेको छैन।केही टालटुले काम भए पनि योजनाबद्ध ढंगका काम नहुँदा प्रदूषण ज्यूँका त्यूँ रहेको सरोकारवालाको तर्क छ । उपत्यकाका सबैभन्दा प्रदूषित क्षेत्र वीरेन्द्र स्कुल र कालिमाटी क्षेत्र मानिन्छ।

LIVE TV