१० पुष २०७४, सोमबार

काठमाडौँ । प्रेस चौतारी नेपालले सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ ।

प्रेस चौतारीका महासचिव राजेश राईले सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु एवं पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएको छ ।

“प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो”,विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।”

जनताले निस्पक्ष सूचना पाउने हक तथा  पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न प्रेश चौतारी नेपालले सम्बद्ध सवै सँग आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का (काठमाडौँपाटी डटकम), रवि धामी (मूलधारन्यूज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे(जनप्रहार साप्ताहिक/अपराध खबर डटकम)लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ ।

LIVE TV