९ पुष २०७४, आईतवार

खोटाङ। कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको नयाँ भवन आज उद्घाटन गरिएको छ । करिब रु दुई करोडको लागतमा निर्माण गरिएको कोलेनिकाको तीनतले नयाँ भवन महालेखा नियन्त्रक रामकुमार आचार्यले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

ठेकेदार कम्पनी श्रीजयन्ती/एडी/जगदम्बा जेभी बौद्ध–६ काठमाडौँले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताउनुभयो ।भाडाको कोठाबाट सञ्चालन हुँदै आएको कोलेनिकाका लागि स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निःशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

रु एक करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले विसं २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी विसं २०७१ भदौ १३ गते सम्झौता गरेको थियो । रु दुई करोड १९ लाख तीन हजार ४१५ रुपैयाँ ८८ पैसामा टेण्डर आह्वान भएकोमा २५ दशमलव ९७ प्रतिशतले घटेर ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएको हो ।भवन उद्घाटन कार्यक्रममा कोलेनिकाका लागि निःशुल्क जग्गा दिने जग्गादाता कार्कीलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

जिल्ला मालपोत कार्यालय, खोटाङमा नायब सुब्बा पदमा कार्यरत जग्गादाता कार्कीलाई महालेखा नियन्त्रक आचार्य, उपमहालेखा परीक्षक सूर्यमणि गौतम, उपमहालेखा परीक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिरसहित सम्मानपत्र प्रदान गरेका छन् ।

LIVE TV