९ पुष २०७४, आईतवार
  • विश्वराज तामाङ

खोटाङ ।  खोटाङ जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो एक महिना यता संचालनमा आएको हो ।

सम्झौता अवधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सम्पन्न भएको हो । जयराम पुलको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको निर्माण कम्पनीले जनाएको छ । यातायात सेवा सञ्चालन भएको दश वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटांगे जनतामा ठूलो आशा जगाएको छ । करिब दश करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको हो, । खोटाङ्गे जनताको लामो प्रतीक्षापछि पुल सञ्चालनमा आए पनि पुलको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

पुल संचालन भए पछि जिल्लाको आर्थिक समृद्धि हासिल हुने खोटाङका जनताहरुको आशा छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको खोटाङ जिल्ला जयरामघाटको पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो ।

पुल नबन्दा लामो समयदेखि जिल्लाको हरेक विकास निर्माणमा बाधा पुगेको थियो । ठूलो कसरतपछि पुल सञ्चालनमा ल्याउन सफल भएको हो । २०६८ साल असार सम्ममा सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष सम्झौता गरेको थियो ।

करिब १५० मिटर लामो मोटरेवल पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजनाले जनाएको छ । पुल निर्माणको लागि आवश्यक सामग्री र प्राविधिक चीनबाट ल्याउनु परेकाले पनि निर्माणमा केहि ढिलाई भएको आयोजनाको भनाई छ । जयराम पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको छ ।

२०६४ मा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो ।जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो । पुल निर्माण पछि अब यातायात संजाल जोडिए संगै दैनिक उपभोग्य सामग्री समेत मुल्य घट्ने विश्वास स्थानीयको छ ।

LIVE TV