९ पुष २०७४, आईतवार
  • सुरेश श्रेष्ठ

दाङ। नियमित रुपमा बजार अनुगमन नहुँदा उपभोक्ताको स्थास्थमाथी खेलबाड हुने गरेको छ । बजारमा व्यापारीहरुको मनोमानी चल्दै आएको छ । अखाद्य वस्तु समेत बिक्रि गर्न व्यापारी पछि पर्दैनन् । दाङको तुलसीपुरवासी पनि यस्तै स्वास्थ्यका लागि हानिकार मासु खान बाध्य छन् । एक रिपोर्ट

पशु सेवा कार्यालय दाङको एउटा टोली आइतबार तुलसीपुर बजारमा अनुगमनमा निस्कियो । टोलीको निशानमा थिए ः बजारका मासु पसल र बधसाला । अनुगमनको क्रममा तुसलीपुरका मासु पसल र बधसाला अस्तव्यस्त भेटिएन ।

अधिकांश मासुपसका मासु खान योग्य भेटिएन । अधिकांश मासु व्यापरीले मासु पसल संचालन गर्दा अपनाउनु पर्ने सामान्य सावधानी अपनाएको भेटिएन । मासु जाँच ऐन २०५५ अनुसार मासु फ्रिजमा राखेर चिसो बनाएपछि मात्र बेच्न मिल्छ । तर, तुलसीपुरका अधिकांश मासु व्यापारीको पसलमा फ्रिज भेटिएन । पसलका बाहिरि भागमा मासु झुन्ड्याएर बेच्ने व्यापारीको संख्या बढी भेटिएको पशु विकास अधिकृत सुदामा भट्टले जानकारी दिए ।

व्यपारीहरुले फ्रिज प्रयोग गरेको पाइएन । मासु झुण्ड्याउन प्रयोग गरिएको फलामे अंकुस पनि खियै खिया लागेको भेटिएको थियो । यसरी फ्रिजमा नराखी खिया लागेको फलामे अंकुशमा झुन्ड्याएको मासु खाँदा मानव स्वास्थ्यमा नराम्रो असर पर्ने वरिष्ठ पशु विकास अधिकृत चन्द्रबहादुर राना बताउँछन् । आवश्यक मापदण्ड पु¥याएर मात्र मासु बिक्रि गर्न बारम्बार सुचित गराए पनि व्यापारीले नियम कार्यन्वयन नगरेको अधिकृत रानाको भनाइ छ ।

अनुगमन टोलीमा उपभोक्ता अधिकारकर्मी केशव शर्मा पनि सहभागी थिए । अधिकारकर्मी शर्माले उपभोक्ताको स्वास्थ्यमा व्यवसायीहरुले खेलबाड गरेको आरोप लगाए । उपभोक्तालाई गुणस्तरीय मासु खुवाउन समेत उनले व्यापारीसँग आग्रह गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि यस्ता समस्या समाधान हुने आम मानिसले अपेक्षा गरेका थिए । तर, अहिलेसम्म स्थानीय तहले यस बिषयमा खासै चासो देखाएको छैन । तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले अस्वस्थ मासु बेच्ने व्यवसायीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरोकारवाला निकायले समय–समयमा यसरी नै बजार अनुगमन गर्ने हो भने उपभोक्ताको स्थास्यमाथी खेलबाड हुने थिएन । तर, नियमित बजार अनुगमन नहुँदा देशका हरेक क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको छ ।

LIVE TV