९ पुष २०७४, आईतवार

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ हुम्दी डाँडागाउँ निवासी डा. राम गिरीले यस क्षेत्रका विद्यार्थी तथा विद्यालयहरुको शैक्षिक विकासका लागि भन्दै विभिन्न सहयोग गर्नु भएको छ ।

हाल जापानमा बस्दै आउनु भएका डा. गिरीले आफूले विद्यालय स्तरको शिक्षा लिएका र अन्य विभिन्न विद्यालयको शैक्षिक उन्नतिका लागि भन्दै सहयोग गर्नु भएको हो ।

ग्रामिण भेगका गरिब तथा जेहन्दार विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने अभिप्रायले मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठान स्थापना गरी सो संस्थामार्फत छात्रवृत्ति, पुस्तकालय निमार्ण, विज्ञान सामग्री, कम्प्युटर, प्रोजेक्टर लगायतका सहयोग गर्दै आउनु भएको छ ।

ग्रामिण भेगका विद्यार्थीले आर्थिक अभावमा शिक्षा लिन नपाउने अवस्था नआओस् भनेर आफूले संस्था स्थापना गरी सहयोग गर्ने थालेको उहाँले बताउनु भयो ।

आफूले अध्ययन गरेको बराह मावि भिडाबारीको स्वर्ण जयन्ती मनाउने सिलसिलामा जापानबाट गाउँ आउनु भएका गिरीले सो कार्यक्रममा करिब पाँच लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गर्नु भएको छ ।

 

सोही अवसरमा विद्यालय परिसरमा उहाँको सहयोगमा निर्माण भएको पर्खाल र स्वर्ण महोत्सव गेटको पनि उद्घाटन गरिएको छ । माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगर पालिकाका विभिन्न वडाका विद्यार्थी तथा विद्यालयलाई छात्रवृत्ति तथा सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै डा. गिरीले शैक्षिक संस्थाको भौतिक निर्माणमा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

डा. गिरीको पहलमा स्थापना भएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले विगत वीस वर्षदेखि यस क्षेत्रका २२ विद्यालयको शैक्षिक सुधारका लागि सहयोग गर्दै आएको छ ।

स्थापना कालदेखि अहिलेसम्म सो संस्थाले नौ सय ३० जना छात्र छात्रालाई करिब ७५ लाख छात्रवृत्ति वितरण गरेको छ । यस क्षेत्रका १८ वटा विद्यालयमा पुस्तकालय र पुस्तक वितरण, १२ वटा विद्यालयमा १४ लाख बराबरको कक्षाकोठा, पर्खाल र फर्निचरको व्यवस्था गरेको छ ।

त्यसैगरी विभिन्न सामाजिक संस्थाका भवन निमार्णमा १५ लाख र स्थानीय संस्कृतिको जगेर्नाका लागि पञ्चेवाजा खरिदका लागि एक लाख सहयोग गरेको छ । आगामी दिनमा पनि शैक्षिक तथा सामाजिक विकासका लागि सहयोग जारी राख्ने गिरीको भनाइ छ ।

LIVE TV