९ पुष २०७४, आईतवार

राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश प्रकरणले विवादमा तानिनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ । उहाँले आइतबार मात्र संघीय समाजवादी फोरमका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले शीर्ष नेता, राजनीतिक दलहरुसँग छलफल गर्दै अध्यादेशको विषयमा सहमतिमा आउन आग्रह गर्नुभएको छ । निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट अन्तिम चरणमा पु¥याए पनि राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशको विवाद टुंगोमा पुगेको छैन ।

दलहरुबीच अध्यादेशलाई लिएर देखिएको विवादमा फरक फरक धारणा आएपछि प्रमाणीकरण गर्न असहज भएको भन्दै राष्ट्रपतिले दलहरुसँग छलफललाई तीव्रता दिँदै आउनुभएको हो । यद्धपी प्रमाणीकरण नगरेर राष्ट्रपतिले अभिभावकको भूमिका निर्वाह नगरेको भन्ने आरोप लागेपछि राष्ट्रपति भण्डारी थप समस्यामा पर्नुभएको छ ।

यद्धपी आइतबार समेत राष्ट्रपति भण्डारीले आफनो सक्रियता बढाउँदै संघीयसमाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर यस विषयमा टुंगोमा पुग्न आग्रह गर्नुभएको थियो । तर, अध्यक्ष यादवले अध्यादेश स्वीकृत गरि राजनीतिक निकास दिन राष्ट्रपतिलाई सुझाव दिएको जानकारी दिनुभयो ।

सरकारले संसदमा नै विवादमा रहेको विधेयकलाई टुंगोमा नपु¥याई अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेका कारणले अध्यादेशको विषयमा विवाद चुलिँदै आएको छ ।

LIVE TV