८ पुष २०७४, शनिबार

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यले जनताका लागि विकास भएकाले सडक विस्तार गर्दा जनभावनाको कदर हुनुपर्नेमा जोड दिनुभएको छ ।

जोरपाटी–सुन्दरीजल सडक विस्तार संघर्ष समितिले आज  आयोजना गरेको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद कृष्ण राईले स्थानीय तहमा हुने विकास निर्माण एवं समस्याको समाधान स्थानीय सरकारबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीयस्तरका काम स्थानीय सरकारबाटै गर्ने गरी कानून निर्माण भइरहेकाले त्यसैअनुसार गर्न सांसदका नाताले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

क्षेत्र नं ३ प्रदेशसभा क का सांसद छिरिङदोर्जे लामाले भत्काएर मात्र विकास निर्माण नहुने भएकाले उचित क्षतिपूर्ति एवं मुआब्जा दिएर काम अघि बढाइनुपर्ने विचार राख्नुभयो ।

क्षेत्र नं ३ प्रदेशसभा ख का सांसद रामेश्वर फुयाँलले विकासका लागि सहयोग गर्न सबै तयार भए पनि सडक दायाँबायाँका घरलाई उचित क्षतिपूर्ति दिनेगरी समस्या समाधान गर्न माग गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सर्वोच्च अदालतले पनि उचित क्षतिपूर्ति दिएर सडक विस्तारको काम अगाडि बढाउन आदेश दिएकाले त्यसैअनुरुप काम हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, संघर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ, सचिव सुशील सिंखडालगायतले सडक विस्तारका नाममा जनता आतंकित नबनाउन अनुरोध गर्नुभयो ।

राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माणस्थल गोकर्णमा आज आयोजित कार्यक्रममा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सांसदलाई बधाई तथा शुभकामना दिइएको थियो ।

LIVE TV