८ पुष २०७४, शनिबार

काठमाडौं । सरकारमा रहेका मन्त्रीहरुले सपथ खाएको तीन महिना भन्दा बढी भएपनि अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । मन्त्री पदमा नियुक्त भएको तीन महिनाभित्रमा सम्पत्ति विवरण बुझाउने प्रावधान भएपनि हालसम्म सम्पत्ति विवरण नबुझाउनेको संख्या उल्लेख्य रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सरकारमा रहेका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका छन् । ६४ मन्त्रीमध्ये २४ जनाले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयको वेबसाइटमा पनि ४० मन्त्रीले मात्रै विवरण बुझाएको उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योगमन्त्री सुनीलबहादुर थापा, स्वास्थ्यमन्त्री दीपक बोहरा, आपूर्तिमन्त्री जयन्त चन्द, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे, सहरी विकासमन्त्री दिलनाथ गिरी, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।

LIVE TV