८ पुष २०७४, शनिबार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको चुनावमा एकल संक्रमणीय प्रणाली अस्वीकार्य हुने आफ्नो अडानलाई कायमै राखेको छ । साथै उसले माओवादी पार्टीसँग एकता प्रक्रिया पूरा गर्न केही समय लाग्ने ठहर गरेको छ ।

एमालेले छिटोभन्दा छिटो नयाँ सरकार गठनको वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको पाँच दलको बैठकमा एमाले नेताहरुले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेका थिए । अपरान्ह भैंसेपाटीस्थित वामदेव गौतमको घरमा बसेको स्थायी कमिटीको बैठकले पनि एकल संक्रमणीय प्रणालीविरुद्ध पार्टीको अडान यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक शुक्रबार बसेको स्थायी कमिटी बैठकमा चुनावी परिणामको समीक्षा गर्नुका साथै सामयिक राजनीतिक परिस्थितिबारे छलफल र विश्लेषण भएको थियो ।

राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्वसमझदारीअनुरुप नै हुनुपर्ने ठहर बैठकले गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

बैठकले सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पुर्‍याउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

एकता प्रक्रियाले पूर्णता पाउन केही समय लाग्छः ओली

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई जानकारी गराएका थिए । नयाँ सरकार गठनमा नेपाली कांग्रेसले नियतवश अवरोध सिर्जना गरिरहेको ओलीले बताएका थिए ।

पार्टी एकताको निर्णय भइसके पनि यसको समग्र प्रक्रियाले पूर्णता पाउन केही समय लाग्ने ओलीले बताएका थिए । पार्टीका नीति सिद्धान्त र बिचारहरुमा एकरुपता कायम गर्ने र नेता कार्यकर्ताको व्यवस्थापन गर्ने प्रक्रियाले समय लिने ओलीले बताएका थिए ।

शनिबार पार्टी एकता संयोजन समितिको बैठक बसेपछि पार्टी एकताको प्रक्रिया अघि बढ्ने उनले बैठकलाई जानकारी दिए ।

छिटो सरकार गठनको वातावरण बनाउन माग

बैठकपछि एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा ‘बैठकले निर्वाचन परिणामबाट राजनीतिक स्थिरता र समृद्धिका लागि एमालेको सङ्कल्प नेपाली जनताद्वारा अनुमोदित भएको निष्कर्ष निकालेको उल्लेख छ ।

बैठकले निर्वाचनपश्चात लामो सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै जनआकाङ्क्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट गरेको छ ।

बैठकले ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको ज्ञवालीले बताएका छन् ।

LIVE TV