८ पुष २०७४, शनिबार

सुर्खेत । जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा गर्यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास गर्यो । झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो । ललितबहादुर बुढाले आजको अन्नपूर्णमा खबर लेखेका छन्।

निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो । टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए । निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए । उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ ।

झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो । कालिकोटका डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले तलब–भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं । बिहान खुसी हुँदै अबिर लगाएर बिदा भएका हुन् तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुखद् घटना हुन पुग्यो ।’

सरकारले तोकेको सबै रकम र सुविधा उपलब्ध गराएको उनको दाबी छ । तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको गुनासो गरेका छन् । आफूहरूले पाउनेभन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार अबेरसम्म मान्ममा प्रदर्शन गरेका छन् । आफ्नो माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन् ।

प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन् । उनीहरूले घटनाको छानबिन गर्न माग गरिरहेका छन् । म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ । प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोसाकभत्ता र रासन खर्च गरी ५८ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ । पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ताअन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ ।

 

LIVE TV