८ पुष २०७४, शनिबार

काठमाडौँ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले सूचना प्रविधिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले विज्ञान र प्रविधिको विकासबाट मात्रै देशमा परिवर्तन गर्न सकिने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले सूचना तथा सञ्चारको विकासमा आइसिटी अभियानको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसको अनुसन्धान र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले उद्योग व्यवसायी कम्प्युटर एसोसिएसनसँग सहकार्य गर्न तयार छ भन्नुभयो ।

प्रमाणीकरण नियन्त्रण कार्यालयका प्रमाणीकरण नियन्त्रक दीपक श्रेष्ठ, कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकाल, संस्थापक अध्यक्ष विमलकुमार शर्मा लगायतका वक्ताले सूचना प्रविधिको विविध क्षेत्रमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रलाई सम्मान गरिएको थियो ।

सन् १९९२ मा स्थापना भएको क्यानले सन् १९९५ देखि क्यान इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।

LIVE TV