७ पुष २०७४, शुक्रबार

विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले निर्वाचनसँगै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । सिरहाको लहानमा आजदेखि शुरु भएको नेपाल अर्बुद रोग निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले संविधान कार्यान्वयनको मुख्य कार्य निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।

अब मुलुक स्वायत्तता, सुशासन र सहअस्तित्वको हिसाबले अघि बढ्ने बताउनुहुँदै उहाँले एकल संक्रमणीय वा बहुमतीय प्रणालीसम्बन्धी हाल देखिएको विवाद एक÷दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कूल बजेटको २० प्रतिशत शिक्षा र १० प्रतिशत बजेट स्वास्थ्यको क्षेत्रमा लगानी नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने दाबी गर्नुहुँदै निवर्तमान स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले आफ्नो कार्यकालमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभरि नै लैजानुपर्ने बताउनुभयो ।

क्यान्सर, मिर्गाैला, मुटुलगायतका नसर्ने प्राणघातक रोगका बिरामीको उपचारमा सरकारले दिँदै आएको आर्थिक सहायता कम भएको बताउनुहुँदै उहाँले यसलाई बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिरहा क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दास यादव, प्रदेशसभा सदस्य अशोककुमार यादव, रामकुमार यादव, पूर्वमन्त्री पद्मनारायण चौधरी, लहान नगरपालिकाका प्रमुख मुनि साह, गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीलगायतले बोल्नुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै मुरारका ग्रुपका अशोक मुरारका, शारडा ग्रुपका पवन शारडा, लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरी, आँखा अस्पतालका अध्यक्ष गजराज चौधरी, ओशो ध्यान केन्द्रका नारायण उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

LIVE TV