
राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरे। विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले प्रतिवेदन तथा अदालतबाट चौधरी दोषी देखिएमा कानूनअनुसार सजाय हुने बताए।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा चौधरी ३४ हजार ३४१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नवनिर्वाचित सांसद चौधरीकी श्रीमती रञ्जिताले आयोगले उम्मेदवारी लिएपछि जनताको परिणामलाई स्वीकार्नुपर्नेमा जोड दिँदै प्रमाणपत्र वितरण गर्ने दायित्व आयोगकै भएको बताए।
टीकापुर थारु संघर्ष समितिका संयोजक रामबहादुर बुढा ऐर, सदस्य फागुराम चौधरीलगायतले टीकापुर घटना दुःखदायी र राजनीतिक भएको बताउँदै जननिर्वाचित चौधरीलाई तत्काल प्रमाणपत्र प्रदान गर्न आग्रह गरे।