७ पुष २०७४, शुक्रबार
  • सुवास गौतम,

बाग्लुङ । बिकास निर्माण सुरु गर्दा ध्यान पु¥याउने हो भने विनास कम गर्न सकिन्छ । तर, हाम्रो देशमा विकास निर्वाणको काम गर्दा स्थानीय स्तरमा पुग्ने असरबारे खासै ध्यान दिइदैन । त्यसको प्रभाव स्थानीयले भोग्नु पर्छ । बाग्लुङमा मध्यपहाडी लोकमार्ग निर्माणको काम धमाधम चलिरहेको छ । तर, लोकमार्ग निर्माणको क्रममा राखिएका ह्युम पाइपका कारण बाग्लुङ नगरपालिका वडा नम्बर तीनका वासिन्दा भने विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बाग्लुङमा पनि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम धमाधम चलिरहेको छ । पुष्पलाल लोकमार्ग नाम दिइएको बाग्लुङ–बुर्तिवाङ खण्डमा लगभग काम सकिने क्रममा छन् । सडक निर्माणकै क्रममा बाग्लुङ नगरपालिका वडानम्बर तीनमा ढल निकासाका लागि केही ह्युम पाइपहरु विच्छाइएका छन् ।

जुन ह्युम पाइपहरुबाट बग्ने ढल नजिकैको वस्तीमा पुग्ने छ । वस्तीहुँदै ढल बग्ने भएपछि वर्षायाममा त्यस क्षेत्रका १३ घर परिवार विस्तापित हुने अवस्थामा पुगेका छन् । वस्ती नै जोखिममा पर्ने गरी विकास निर्माणको काम गर्न नपाइने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

वर्षायाममा वस्ती नै जोखिममा पार्ने गरी ढल निकासका लागि ह्युम पाइप राखिएको स्थानीयवासीले आरोप लगाए पनि निर्माण पक्ष भने स्वीकार्न तयार छैन । मध्यपहाडी लोकमार्गका कल्स्टर नम्बर १ का साइड इन्चार्ज यज्ञ शाही, वस्तीलाई जोखिममा पार्ने गरी कुनै पनि काम नभएको बताउँछन् । ह्युम पाइपबाट बग्ने गढलको उचित व्यवस्थापन गर्ने तयारी भइरहेकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

मध्यपहाडी लोक मार्ग अन्र्तगतको बागलुङ खण्डमा पर्ने १ सय १४ किलोमिटर मध्ये घोडाबाँधे देखि खर्वाङसम्मको ४५ किलो मिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी रहेको ६९ किलोमिटर सडक पनि कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

विकास निर्माणका काम गर्दा कुनै न कुनै रुपमा स्थानीय स्तरमा समस्याहरु उत्पन्न हुन्छन् । स्थानीय स्तरमा हुने बिकासबाट स्थानीयवासीले नै लाभ लिने भएकाले सानातिना समस्याहरु समाधानका लागि स्वानीयवासी नै अग्रसर हुनुपर्छ । साथै निर्माण पक्ष पनि क्षति या भावी प्रभाव न्यूनिकरणमा गम्भीर बन्नु पर्छ ।

LIVE TV