७ पुष २०७४, शुक्रबार

नेकपा एमालेको स्थायी समितिको बैठकले अध्यादेश भन्दा पनि नयाँ सरकार गठन गर्नेतर्फ ध्यान केन्दित गर्नुपर्ने जनाएको छ । बैठकले विवादमा देखिएको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेशलाई राष्ट्रपतिले प्रमाणित गर्न नमिल्ने भन्दै अविलम्ब सरकार गठन गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

शुक्रवार भैसिपाटीस्थित एमाले उपाध्यक्ष बामदेव गौतमको निवासमा बसेको बैठकमा एमालेका नेताहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न आग्रह गर्दै सरकार गठन प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले निर्वाचन भएको अवस्थामा यसअघिको संसदले ल्याएको अध्यादेश अहिले आएर पारित गर्न नहुने बताउनुभयो । उहाँले निर्वाचन आयोेगले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम तत्काल सार्वजनिक गरेर नयाँ सरकार गठन प्रक्रियामा सहयोग गर्नुपर्ने समेत धारणा व्यक्त गर्नुभयो ।

एक फरक प्रशंगमा सचिव भट्टराईले माओवादीसँगको पार्टी एकीकरण लगभग टुंगोमा पुगेको जनाउँदै औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको समेत जानकारी दिनुभयो ।

LIVE TV