७ पुष २०७४, शुक्रबार

झापा । कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासीे तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन् । शिवसतासी–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा रु पाँच करोडको लागतमा तटबन्धको काम भइरहेको इञ्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो । “बढी जोखिमपूर्ण र प्रभावित स्थानको पहिचान गरी तटबन्धको काम भइरहेको छ”, उहाँले भन्नुभयो । शिवसताक्षी–४ का सिकिन पासवानले तटबन्धले स्थानीयवासीमा आशा जगाएको बताउनुभयो । “धेरैजना कनकाई नदीको कटानले सुकुम्बासी हुनुभएको छ”, उहाँले भन्नुभयो, “वर्षा शुरु भएसँगै त्रास छाउँछ ।”

अर्का स्थानीय विरेन राजवंशी तटबन्ध शुरु भएपछि बाढीको जोखिम कम हुनेमा विश्वस्त रहेको बताउनुभयो । “हरेक वर्ष दुःखका साथ बर्खायाम बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माण शुरु भएसँगै स्थानीयवासीमा आश जागेको छ ।” शिवसताक्षी नगरपालिकास्थित लालपानीका मानबहादुर थापाले कनकाई नदीको कटानकै कारण आफू सुकुम्बासी भएको बताउँदै तटबन्ध विश्वासिलो र भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नदीको दुवै किनारमा तटबन्ध गरिएमात्र प्रभावकारी हुने सुझाउ पनि दिनुभयो ।

“नदीको दुवैतिर नियन्त्रणको काम हुनुपर्छ”, उहाँले भन्नुभयो, “नत्र एकातिरको समस्या अर्कोतिर सर्छ ।” कनकाई नदीकै कारण सयौँ परिवार विस्थापित भएको पनि उहाँले सुनाउनुभयो । कनकाईले वर्षेनी कैयौँ बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौँ घर डुबान र बाढीले बगाउँदा मानवीय क्षतिसमेत हुने गरेको छ । जनताको तटबन्धले यो वर्ष बाँचिएला भन्ने आशा जागेको स्थानीयवासी बताउँछ । रासस

LIVE TV