७ पुष २०७४, शुक्रबार

काठमाडौं । भूकम्पले क्षेतिग्रस्त भएको धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । धरहरा निर्माणको जिम्मा यसअघि  नेपाल टेलिकम दिइएको थियो। तर टेलिकमले लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरण मातहत नै निर्माण गर्ने निर्णय लिएका हुन् ।

टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषद्ले आफ्नो प्रस्ताव बमोजिमकै निर्णय गरेर पठाएकाले अब ढिला नगरी निर्माण प्रक्रिया अगाडि बढाउने प्राधिकरणले बताएको छ ।मन्त्रिपरिषद्ले निर्णय परिवर्तन गरेकाले अब प्राधिकरणले नै निर्माणको नेतृत्व गर्ने प्रवक्ता यमलाल भुसालले बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भएर आएको छ । डिजाइन मात्रै फाइनल गर्न बाँकी छ,’ भुसालले भने ।१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा ढलेको उक्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण अझै शुरु हुन सकेको छैन । शुरुमा जिम्मा पाएको टेलिकमले लगानी सुरक्षण नहुने देखेपछि औपचारिक रुपमै हात झिक्न चाहेको थियो ।

स्मारकसहित धरहरालाई आकर्षक पार्कका रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ ठड्याउने गरी विभागले डिजाइन तयार छ ।यसअघि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत् करिब १० करोड रुपैयाँ संकलन भएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा उपलब्ध हुनेछन् ।

 

LIVE TV