७ पुष २०७४, शुक्रबार

काठमाडौं। नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा दक्षिणी छिमेकी भारतले चासोपूर्वक हेरेको देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका शीर्ष तीन नेतासँग टेलिफोन वार्ता गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने विश्वास दिलाउनुभएको थियो । उहाँले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुका साथै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणा पत्र पठाइने बताएको एमाले नेता प्रदीप ज्ञवालीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

एमाले अध्यक्ष ओलीलाई मोदीले भावी प्रधानमन्त्रीको रुपमा हेर्दै भारत भ्रमणको निम्तो समेत दिएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले बिहीबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दिल्लीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुबीच टेलिफोन वार्ता भएको जानकारी दिनुभयो । परम्परागत रुपमै नेपालमा प्रभावशाली रहँदै आएको दक्षिणी छिमेकीका कार्यकारी प्रमुखले एकैदिन तीनैवटा प्रमुख दलका शीर्षस्थ नेताहरु गरेको कुराकानीलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन ।

 

LIVE TV