
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई कांग्रेस पार्टी मन परेपनि देउवा नेतृत्व मन नपरेको दावी गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेताहरु पराजित भएको उनको ठम्याइ थियो ।
काठमाडौं क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिंहलाई बधाई दिन नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौं शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जनतालाई पार्टी नेतृत्व मन नपरेको तर पार्टी मन परेको कुरा अहिलेको चुनावको नतिजाले देखिएको छ ।’
उम्मेदवार पराजित हुने तर समानुपातिकमा धेरै भोट आउनुले यो कुराको पुष्टि गरेको सिंहको भनाइ थियो । पार्टी संस्थागत ढंगले र विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको उनले बताए ।
कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिंहले पार्टीमा सुधार आवश्यक रहेको दोहोर्याए । ‘पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टी सुधार आवश्यक छ,’ उनले भने । पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र विभागले अझैसम्म पनि पूर्णता नपाउनु दुःखद भएको उनले बताए ।