
पूर्वी नेपालमा रगत अभाव सुरु भएको छ । पूर्वको सबै भन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पूर्वका अन्य अस्पतालमा रगत अभाव हुँदा विरामीहरु मर्कामा परेका छन् । रगत अभावका कारण सुत्केरी गराउन प्रतिष्ठान पुगेका महिलाहरुको शल्यक्रियामा समेत समस्या उत्पन्न भएको छ ।
यो सवाद हो धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रका कर्मचारी र सेवाग्राहीबीचको । अहिले यो रक्तसञ्चार केन्द्रमा ओ पोजेटिभ, एवी पोजेटिभ र बी पोजेटिव गु्रपका रगत शून्य रहेको छ भने अन्य गु्रपका रगत समेत थोरै भएका कारण समस्या भएको रक्तसञ्चार केन्द्र धरानले जनाएको छ ।
एकातिर तराईमा बढेको हुस्सु र शीतलहरले अत्याधिक चिसोका कारण विरामीहरु प्रतिष्ठानमा आउने क्रम बढ्दै गएको छ भने अर्कोतर्फ प्रतिष्ठानमा विरामीले चाहेको समयमा रगत उपलब्ध गराउन नसक्दा विरामीहरु समस्यामा परेका छन् । रगत अभावकै कारण जटिल प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । तुरुन्त रगत उपलब्ध गराउनुपर्ने जटिल प्रकारका शल्यक्रिया प्रभावित भएपछि समयमै उपचार पाउन नसकेको गुनासो विरामीका आफन्तहरुले गरेका छन् ।
दैनिक ५० पिन्ट रगत खपत हुने प्रतिष्ठानमा रगत अभावसंगै अहिले विरामीका आफन्तबाट नै सट्टा भर्ना गर्नुपर्ने अवस्था आएको रक्तसञ्चार केन्द्रका कर्मचारी सानुबाबु थापा बताउनुुहुन्छ ।
निर्वाचनका अवधिमा सबै निर्वाचनमै केन्द्रित भएको र अहिले अत्याधिक बढेको चीसोका कारण रक्तदान कार्यक्रम हुन नस्क्दा प्रतिष्ठानमा रक्तसञ्चारमा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।
उहाँले अहिले सट्टाभर्ना गरेर भए पनि विरामीलाई उपलब्ध गराएको बताउदै रक्तदान कार्यक्रमका लागि विभिन्न संघ संस्थालाई पत्राचार गरेको र पुष ८गतेदेखि लगातार रक्तदान कार्यक्रम हुने भएकोले रगतको अभाव हट्ने विश्वास व्यक्त गर्नुभयो ।
रगत अभावकै कारण अहिले प्रतिष्ठानमा आएका सयौं विरामी रगतको अभावमा उपचार गराउन पाएका छैनन् । रगत अभावलाई परिपूर्ति गर्न सबैलाई रक्तसञ्चार केन्द्रले आवहान समेत गरिसकेको छ ।