६ पुष २०७४, बिहीबार

तराईका जिल्लाहरुमा सिटी सफारी भित्रिएपछि स्थानीय स्तरमा आवतजावत गर्न त सहज भयो । तर, सिटी सफारी व्यवस्थित रुपमा संचालन नहुँदा तराईका सडक अस्तव्यस्त नै भएका छन् । पछिल्लो पटक यातायात व्यवस्था विभागले तराईका मुख्य सडकमा सिटी सफारी संचानमा रोक लगाएको छ । तर, सिटी सफारी चालकहरु भने विभागको यो निर्णय मान्न तयार छैनन् । सुनसरीको इटहरीका सिटी सफारी चालकहरु विभागको निर्णय विरुद्ध आन्दोलित नै भएका छन् ।

विभागको निर्णय अनुसार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले, बिराटनगर, धरान, इटहरी सहित पूर्वका विभिन्न शहरमा पेट्रोल टेम्पु र सिटी सफारीलाई मुख्य सडकहरुमा संचालन गर्न रोक लगायो । तर, सिटी सफारी तथा पेट्रोल टेम्पो चालकहरु भने विभागको निर्णय मान्न तयार छैनन् ।

चालक तथा व्यवसायी बिहीबारबाटै विभागको निर्णय विरुद्ध आन्दोलित भए । इटहरीका सिटी तथा टेम्पो चालकले निणर्यको विरोध गर्दै चक्काजाम गरेका छन् । विभागले सिटी तथा टेम्पुलाई भित्रि सडकहरुमा मात्र संचालन गर्न पाउने निर्णय गरेको थियो । व्यवसायी भने भित्री रुट प्रयोग गर्दा कमाई नहुने र पूर्वधार बिनाको बाटोमा सफारी चलाउन नसकिने भन्दै आन्दोलित भएका हुन । सबै सडकमा निर्वाध रुपमा सिटी तथा टेम्पो संचालन गर्न पनउनुपर्ने आन्दोलित चालक तथा व्यवसायीले माग गरेका छन् ।

यता क्षेत्रीय ट्राफिक कार्यालय इटहरी भने विभागको निर्णय कडाइका साथ कार्यान्वयन गर्ने बताउँछ । बारम्बार चालक तथा व्यवसायीसँग छलफल गरिएकाले कुनै पनि हालतमा निर्णय कार्यान्वयन गरेरै छोड्ने क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरिक्षक राजकुमार लम्साल बताउँछन् ।

सिटी सफरीको संख्या बढेसँगै मुख्य सडक अस्तव्यस्त भएपछि दुर्घटना बढेको भन्दै विभागले मुख्य सडकमा सिटी सफारी संचालनमा रोक लगाएको हो । सिटी र टेम्पो संचालनका लागि भित्रि सडकहरुलाई व्यवस्थापन नगरेसम्म विभागको यो निर्णय कार्यान्वयन गर्न सहज भने छैन ।

LIVE TV