६ पुष २०७४, बिहीबार

सुन्तलाको उर्वर भूमिकोरुपमा ख्याति कमाएको अछाममा यस बर्ष सुन्तलाको अभाव हुने देखिएको छ । जिल्लामा उत्पादन भएका सुन्तला अन्य जिल्लाका सुन्तला व्यपारीले बोटमै खरिद गरेको तथा सुन्तलामा विभिन्न प्रकारका रोग किराका कारण सुन्तला उत्पादन हुन नसक्दा अहिले अछाममा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता आइपरेको छ । जिल्लाका बिभिन्न गाँउमा केही बर्षअघि लटरम्म फल्ने सुन्तलाको बोट यस बर्ष रित्तो देखिएका छन् ।

जलबायु परिवर्तन सिटर डि लाईसको तथा ग्रिनीका भाईरस जस्ता प्रकोपका कारण सुन्तला उत्पादनमा ह्रास आएको हो । जिल्लामा उत्पादन भएका सुन्तला पनि अन्य जिल्लाका सुन्तला व्यापारीले बोटमै पहिला नै खरिद गरिसकेकोले अहिले अछाममा बाहिरी जिल्लाबाट सुन्तला आयात भईरहेको छ भने जिल्लामा उत्पादन भएको सुन्तला भन्दा झन्डै ७ गुणा महंगो तिरेर सुन्तला खाना बाध्य भएका छन् ।

जिल्लाको सदरमुकाम मंगलसेन, तोषी, तुर्माखाद, मार्कु, सिउडी, पायल, कुन्तिबन्डाली, बुढाकोट, लुग्रा लगायतका गाँउ सुन्तलाको पकेट क्षेत्रको रुपमा चिन्दै आए पनि अहिले जलबायु परिवर्तन लगायतका कारणले जिल्लामा सुन्तला उत्पादन हुन नसकेको कृषकहरुको भनाई छ ।

कृषिमा आधुनिकता भित्रिन नसक्नु तथा कृषिमा नयाँ प्रविधिको विकास र कृषकसम्म विउविजन तथा रोक संक्रमणलाई रोकथाम गर्नका लागि किटनाशक औषधिको प्रयोगमा ध्यान नदिनु जस्ता कारणले गर्दा सुन्तला उत्पानमा कमी आएको हो । कृषकलाई सहुलियत दरमा सरकारले बीउविजन तथा प्रविधिमा सरकारको असहयोग जस्ता कारणले कृषकले भने जस्तो सुन्तला उत्पादन गर्न नसकेको र सुन्तला खेतीबाट नै विमुख हुनुपरेको कृषकहरुको भनाई छ ।

सुन्तला उत्पादनका अब्बल मानिएको अछाममा अहिले सुन्तला लगभग उत्पादन हुनै छोडेको छ । सुन्तला खेतीको सम्भाव्यता रहदा समेत सरकारी निकायले कृषकहरुलाई प्रोत्साहन तथा सुन्तलाको विउविजन र औषधि उपचारमा सहयोग नगरेका कारण कृसानहरु सुन्तलाखेतीबाट बञ्चित हुनुपरेको स्थानीय कृषकको गुनासो छ । तसर्थ कृषकलाई सहुलियत दिन सकेमा सुन्तला उत्पादन गर्ने किसानलाई राहत र प्रोत्साहन मिल्ने थियो । यसप्रति सरोकार निकायको ध्यान जानु जरुरी छ ।

LIVE TV