६ पुष २०७४, बिहीबार

काठमाडौं । १० /१० लाख धरौटीमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेसहित तीन जना छुटेका छन्।विशेष अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको हो।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पौडेल र केसी पक्राउ परेका थिए । कालोसूचीमा परेको मेनपावर कम्पनीलाई फुकुवा गर्न १५ लाख रुपैयाँदेखि बार्गेनिङ गर्दै १० लाख लिएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो।

महानिर्देशक पाण्डेले नै ती कर्मचारीहरुलाई पठाएको खुलेपछि उनीसमेत पक्राउ परेका हुन्। विशेष अदालतका न्यायाधीशद्वय बाबुराज रेग्मी र प्रमोदकुमार वैद्यको इजलाशले धरौटी माग्ने आदेश गरेको हो।

नेपाल बंगलादेश बैंकको धरौटी बुझाएपछि उनीहरु साधारण तारेखमा रिहा भएको विशेष अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले बताए।

सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा कात्तिक २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेलाई पक्राउ गरेको थियो। अख्तियारले महानिर्देशकसहित तीन कर्मचारीविरुद्ध पुस ४ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

विशेषले थुनछेक बहस गर्दै उनीहरुसँग घुस लिएको रकम बराबर धरौटी माग गरेको हो। आयोगले विशेष सूचनाका आधारमा विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित गत मंगलबार पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पनि बुधबार पक्राउ परेका थिए।

 

 

LIVE TV