
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठन प्रक्रियामा कुनै संवैधानिक जटिलता नरहेको बताउनुभएको छ । सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने बताउँदै संवैधानिक जटिलता नरहेको प्रष्ट पार्नुभयो ।
बिहीवार बालकोटस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्था रहेको बताउनुभयो ।
उहाँले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि द्धुविधा पाल्न नहुने बताउनुभयो । सवैधानिक जटिलता नरहेको स्मरण गराउँदै उहाँले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै आपत्ति जनाउनुभयो ।
अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै विलम्ब नहुने भन्दै कार्यकर्ताहरुलाई द्धुविधामा नरहन आग्रह समेत गर्नुभयो ।