६ पुष २०७४, बिहीबार

काठमाडौं । निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

अध्यादेशमा संवैधानिक र कानुनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्री देउवाको बुझाइ छ । प्रधानमन्त्रीका स्वकीय सचिव अधिवक्ता केशव जोशीले अध्यादेश राजनीतिक सहमतिका आधारमा निकास निकाल्ने विषय नभएकाले दलीय छलफल आवश्यक नरहेको बताए ।

मन्त्रिपरिषद् बैठकले पारित गरेर पठाएको लामो समय भइसक्दा पनि अत्यावश्यक अध्यादेश स्वीकृत नगरेको भन्दै राष्ट्रपतिसँग सरकार असन्तुष्ट छ । प्रधानमन्त्री देउवाले गत बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिन आग्रह गरेका थिए । तर, राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि सरकार ‘पर्ख र हेर’को रणनीतिमा छ । नयाँ पत्रिका

 

LIVE TV