५ पुष २०७४, बुधबार

बाह्र बर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान नेपाली समाजमा परिचित छ । त्यही उखान जस्तै भएको छ ओखलढुंगामा निर्माण भएको ३३ केभीको प्रसारण लाईन । ओखलढुंगामा निर्माण सुरु गरेको १३ बर्षपछि खोटाङको बुईपादेखि ओखलढुंगा सम्मको ३३ केभी प्रसारण लाईनको सबस्टेशन निमार्ण सम्पन्न भएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारे भञ्ज्याङमा निर्माण सुरु गरेको १३ वर्षपछि सबस्टेशन निर्माण कार्य पूरा भएको हो । निमार्ण कार्य पूरा भईसकेको सबस्टेसनमा परीक्षणका लागि ३३ केभी बिद्युत लाईनको चार्जिङ शुरु भएको छ । झन्डै १३ बर्षपछि सबस्टेशन निमार्ण सम्पन्न हुदाँ ओखलढुंगे जनतामा आशाको दियो जलेको छ ।

सबस्टेशनलाई अझै केही दिन परीक्षणकै रुपमा चार्जमा राखिने छ । लगत्तै केहि दिनपछिबाट सबस्टेशन मार्फत बिद्युत नियमित सञ्चालन हुने बुईपा ओखलढुंगा ३३ केभी प्रसारण लाईन आयोजनाका प्रमुख चन्द्रवीर खड्काले जानकारी दिनुभयो ।

सबस्टेशन निर्माणको काम हुलास स्टील कम्पनीले ठेक्का लिएको थियो । तर हुलासले पनि सब–कन्ट्रयाक्टरको रुपमा एन्जिला कन्सट्रक्सनलाई जिम्मा लगाएपछि निर्माण कार्य समयमा सम्पन्न हुन नसकेको हो । समयमा काम सुरु नभएपछि जिल्लामा बिभिन्न आन्दोलन तथा दबाबका कार्यक्रमहरु समेत भएका थिए । पछि सब–कन्ट्रयाक्टर एन्जिला कन्सट्रक्सनले काम नगरेपछि हुलास आफैले काम सम्पन्न गरेको हो । यसअघि सबस्टेशन नहुदाँ जिल्लामा बिद्युतसेवा समेत नियमित हुने गरेको थिएन ।

सबस्टेशन निमार्ण सम्पन्न भई सञ्चालनमा आएसंगै जिल्लाकै पहिलो ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत आयोजना पनि सञ्चालन ल्याउने तयारी गरिदै छ । अहिले परीक्षण प्रसारणमा रहेको मोलुङ जलविद्युत आयोजनाको समेत परीक्षण प्रसारण सफल भईसकेको छ ।

LIVE TV