५ पुष २०७४, बुधबार

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदको नाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता र पत्रकारिताको वर्गीकरण’ विषयको अन्तरक्रियामा उहाँले राष्ट्रपतिलाई आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम चाँडै नै पठाउने बताउनुभयो ।

नेता नेम्वाङले २०४७ सालको संविधान जस्तै अहिलेको संविधान रहेकाले राष्ट्रपतिले बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताउनुभयो । “संसद्मा प्रस्ताव राखेर प्रधानमन्त्री चयन गर्न अहिलेको व्यवस्थाले मिल्दैन, २०४७ सालको संविधान जस्तै प्रतिनिधिसभाको बहुमत प्राप्त गर्ने नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईँ र ईश्वरी ओझाले आचारसंहितामा रहेर मात्र सञ्चार संस्थाले समाचारको प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

LIVE TV