
- प्रकाश सिग्देल/शरद आचार्य,
चितवन । पूर्वी चितवनको लोथर खोलामा अबैध रुपमा मेसिनकोे प्रयोग गरी ग्राबेल उत्खनन् भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर प्रक्रिया मार्फत ठेक्कामा लगाएको उक्त खोलामा हातेऔजारको मात्रै प्रयोग गरेर ग्राबेल उत्खनन गर्नुपर्ने उल्लेख गरे पनि अहिले मेसिनको प्रयोग गरी नदीजन्य बस्तु दोहन गर्ने कार्य तीब्र बनेको छ ।
जिल्ला समन्वय समितिले ढुंगा, गिटी ग्राभेल बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धित सुचनाको ११ नम्वर बँुदामा ढुंगा गिटी बालुवाको उत्खन्न तथा निकासीमा स्वीकृत आईईईमा गरिएको व्यवस्था बमोजिम औजारको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । आईईईमा ब्यवस्था गरिएको औजारमा मेसिन उल्लेख नभएको र मेसिनको प्रयोग खोलामा गर्न नपाईने उल्लेख छ ।
तर ठेकेदारहरुले नियम विपरित मेसिनको प्रयोग गरेर धमाधम ग्रावेल उत्खनन गरिरहेको छ । यसरी नियम विपरीत उत्खनन गर्दा समेत प्रहरी र प्रशासन रमिते बनेको छ । प्रहरीले सुरक्षा नै दिएर अबैध रुपमा उत्खनन भइरहेको र नियम विपरित मेसिनको प्रयोग गरेर मनलाग्दी उत्खनन गरेको भन्दै बिरोध जनाएका केही स्थानीय युवालाई प्रहरी धरपकड समेत गरेको स्थानीय नबिन पराजुलीले बताउनुभयो ।
ठेकदारहरुले नियमअनुरुप मात्रै ग्राबेल, ढुङ्गा निकाल्नुपर्ने भए पनि नियमलाई नमानेको स्थानीय रामचन्द्र श्रेष्ठको भनाई छ । लोथर खोलाको कर बाहेक २ करोड ५५ लाखमा फ्रेण्डसिफ कन्स्ट्रक्सनको नवराज सिलवाललाई ठेक्का परेको थियो । लोथर खोलामा बिहीबारदेखी ग्राबेल, ढुङ्गा निकाल्न सुरु गरिएको हो । त्यहाँ दुईबटा एक्साभेटर प्रयोग गरि धमाधम उत्खनन भईरहेको छ । सुरुदेखि नै ठेकदार पक्षले स्वीकृति बिना मेसिनको प्रयोग गरेपछि आफुहरुले बिरोध जनाएको श्रेष्ठले बताउनुभयो ।
बिरोधको बाबजुत ठेकदारले प्रहरी प्रशासनको प्रयोग गरी खोलामा मेसिन प्रयोग गरिरहेको छ । आफुहरुले अनियमितता रोक्न आग्रह गर्दै नियमसंगत कुरा गर्दा समेत प्रहरीले स्थानीयमाथि ज्यादति गरेको स्थानीय डम्मरबहादुर ढुंगानाको दुःखेसो छ ।
ठेकदारसँग आर्थिक प्रलोभनमा परेर प्रहरीले स्थानीयमाथि दमन गरेको स्थानीयहरु बताउछन् । जिल्ला समन्वय समितिका स्थानीय बिकास अधिकारी कृष्णप्रसाद सुवेदीले लोथर खोलामा मेसिनको प्रयोग गर्न स्वीकृति नदिएको बताउनुभयो । सुबेदीले नियम विपरित उत्खनन् भएको पाइएमा कारवाही गर्ने बताउनुभयो ।
प्रशासन र ठेकेदारको मिलोमतोमा नदीजन्य बस्तु नियम विपरित उत्खनन् भईरहेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । तर उनीहरुको गुनासो र विरोधको सुनुवाई भने कहीं कतैबाट हुने देखिएको छैन् ।