५ पुष २०७४, बुधबार

रुपन्देही– सामान्य गिजा दुखेर अस्पताल भर्ना भएको बिरामीको मृत्यु भएपछि उतपन्न भएको तनाव साम्य भएको छ । मंगलबार साँझ रेसुङ्गा अस्पतालमा गुल्मी मालिका गाउँपालिका वडा नम्वर ६, अर्जैका ५३ वर्षीय शिवलला अर्यालको साँझ ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

बिरामीको मृत्यु भएपछि उब्जिएको विवादमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएको छ । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित बनेपछि अस्पताल प्रशासनले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र छानबिनपछि आउने प्रतिवेदनका आधारमा डाक्टरलाई कारबाही गर्नुपरे गर्ने सहमति जनाएको हो।

मृतकका आफन्त र अस्पताल सञ्चालक समितिबीचको छलफलमा १० लाख क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले मृतकको शव उठाएका छन् । दिउँसो २ बजे अस्पतालमा आइपुगेका अर्यालको गिजामा जमेको पिप निकाल्न शल्यक्रिया गर्नुपर्ने भन्दै बेहोस पारिएको थियो। शल्यक्रिया सकेपछि पनि उनको होस खुल्न नसकेर मृत्यु भएको अस्पतालले जनाएको छ।

घटनापछि सामान्य अवस्थामा आएको बिरामीको मृत्यु भएको भन्दै मंगलबार साँझदेखि बुधबार बिहानसम्मै मृतकका आफन्तले अस्पतालमा नाराबाजी गर्नुका साथै प्रहरीसँग झडपसमेत भएको थियो ।

LIVE TV