५ पुष २०७४, बुधबार

काठमाडौं । अध्ययनका लागि बंगलादेशको ढाकामा गएकी एक नेपाली छात्राको मृत अवस्थामा फेला पारिएको छ ।

जनकपुरकी २० वर्षीया विनिशा साह ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत थिईन् । उनी आफ्नै होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको थियो ।

उनका साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टलको कोठामा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

कलेज सञ्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको स्थानीय मिडियालाई बताएका छन् । उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ । सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ ।

LIVE TV