५ पुष २०७४, बुधबार

राजु

सुर्खेत । प्रदेश नम्बर ६ को राजधानीको प्रस्तावमा परेको सुर्खेतले तयारी पनि अगाडि बढाएको छ । हुनत ६ नम्बर प्रदेशको राजधानी कहाँ राख्ने निर्णय भइ नसकेपनि सुर्खेतमा भने राजधानीका लागि आवश्यक सबै भौतिक पूर्वाधारहरुको व्यवस्था गरिन थालिएको छ ।

६ नं. प्रदेशमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएसँगै मुख्यमन्त्री र प्रादेशिक संसद् भवनको खोजी तयारी भइहेको छ । क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले गठन गरेको कार्यदलले हाल भएकै सरकारी भवनलाई मर्मत गरी संसद्, मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रालय राख्ने तयारी गरेको छ । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको कार्यदलले हाल भएकै सरकारी भवनलाई मर्मत गरी संसद्, मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रालय राख्ने तयारी गरेको छ । शैक्षिक तालिम केन्द्रलाई प्रदेश ६ को संसद् भवनकारूपमा प्रयोग गर्न लागिएको छ । शैक्षिक विकास केन्द्रको अडिटोरियम हललाई प्रादेशिक संसद् भवनका लागि उपयुक्त मानिएको छ । यहाँ एउटै कम्पाउन्डमा धेरै भवन छन् । सभामुख र उपसभामुख कक्ष, संसदीय दलका कार्यालय र कर्मचारीका लागि पर्याप्त भवन रहेका छन । संसद् भवनका रूपमा विकास गर्न तत्कालै मर्मत तथा निर्माणको काम गर्नुपर्ने क्षेत्रीय प्रशासक सुरेश प्रधानले बताउनु भयो । क्षेत्रीय सदरमुकाम समेत रहेको हुँदा आवश्यक पूर्वाधारकालागि कुनै समस्या नभएको उहाँको भनाई छ ।

६ नं. प्रदेशमा प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ जना गरी ४० सदस्यीय संसद् हुनेछ । त्यस्तै, क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको कार्यालय प्रस्ताव गरिएको छ । क्षेत्रीय वन निर्देशनालय तथा तालिम केन्द्रलाई प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी गरिएको छ । सँगै प्रदेश प्रमुखको निजी आवास पनि राखिनेछ । समितिले जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश गृह मन्त्रालय र क्षेत्रीय सिँचाइ कार्यालयलाई मन्त्री आवास बनाउन सकिने प्रस्ताव गरेको छ । कार्यदलले आवश्यक पूर्वाधारहरूको पहिचान गर्नुका साथै मर्मतका लागि सरकारसँग बजेटसमेत माग गरिसकेको छ । बजेट माग भए पनि आइसकेको छैन । ६ नं. प्रदेशका लागि कम्तिमा ७ र बढीमा १० मन्त्रालय, मन्त्री निवास र उच्चस्तरीय कर्मचारीका लागि कर्मचारी आवास भवनसमेत छुट्याएको छ । प्रदेश संसद् र सरकारका लागि आवश्यक न्यूनतम २० भवन मर्मतका लागि आवश्यक वजेट माग गरिएको छ ।

LIVE TV