५ पुष २०७४, बुधबार

विष्णु

काठमाण्डौ । काठमाडौको बिभिन्न स्थानमा सञ्चालनमा रहेका मोटर ड्राइभिङ प्रशिक्षण केन्द्रहरु मापदण्ड विपरित भएको पाईएको छ । मङ्गलवार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र यातायात व्यवस्था विभागको समन्वयमा गरिएको अनुगमनबाट उक्त कुरा पत्ता लागेको हो ।

पछिल्लो समय नियमनकारी निकायहरुले अनुगमनको कार्यलाई निरन्तरता दिएका छन । यहि क्रममा मङ्गलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र यातायात व्यवस्था विभागले काठमाडौको बनस्थली ठुलोभ¥याङ लगायतका ठाउँमा रहेका ड्राईभिङ प्रशिक्षण केन्द्रहरुमा अनुगमन गरेको छ । सो क्रममा ठुलोभ¥याङको यातायात व्यवस्था कार्यालय नजिक रहेका प्रशिक्षण केन्द्रहरु मापदण्डबिना नै सञ्चालनमा रहेको पाईएको छ । ठुलोभ¥याङमा अवस्थित वुद्ध ड्राईभिङ प्रशिक्षण केन्द्र र नवयुवा ड्राईभिङ स्कुलले यातायात व्यवस्था विभागमा दर्ता नै नगरी सञ्चालनमा रहेको भेटिएको छ भने केहीले सामान्य मापदण्डहरु पनि पूरा नगरेको पाईएको निरीक्षण अधिकृत ढुण्डीराज पोखरेलले बताउनुभयो ।

यसरी अनुगमन टोलीले समान्य मापदण्ड पूरा नभएकालाई सुधार गर्न निर्देशन दिएको छ भने दर्ता नै नगरी सञ्चालनमा आएका प्रशिक्षण केन्द्रहरुलाई दर्ता नभएसम्म बन्द गर्नको लागि निर्देशन दिएको छ । ड्राईभिङ सेन्टरका सञ्चालकहरु भने अनुगमनको निर्देशन पञ्चात केही रुष्ट देखिएका छन । आफुहरुले लामो समय अगाडि देखि दर्ताको प्रक्रिया अगाडी बढाएको तर सरकारी कार्यालयहरुकै ढिलाईका कारण दर्ता हुन नसकेको उनीहरुको गुनासो छ ।

सरकारी निकायहरुले अनुगमनलाई निरन्तरता दिएपनि सरकारी कार्यलयहरुकै ढिलासुस्ती त्यसमा जोडिने गरेका छन । जसका कारण अनुगमनकर्ताहरुलाई तत्काल निर्णय लिन समस्या पर्ने गरेको छ । त्यसकारण सरकारी कार्यलयको कामलाई चुस्त बनाउनपर्ने अवश्यकता देखिएको छ ।

LIVE TV