५ पुष २०७४, बुधबार

काठमाडौ । नेपालमा भारतबाट आयात हुने बिजुलीको भाउ बढ्ने भएको छ। नेपाललाई अहिलेको दरमा बिजुली दिन नसक्ने भन्दै भारतले ऊर्जा मन्त्रालयमा अनौपचारिक जानकारी गराएपछि भाउ बढ्ने निश्चित भएको हो ।पुरानै सम्झौताअनुसार बिजुली उपलब्ध गराउन आग्रह गरे पनि भारतीय पक्षले नमान्दा बिजुलीको भाउ बढ्ने सम्भावना  पक्का भएको छ।

भारतले नेपालमा निर्यात गर्दै आएको बिजुलीमा खुद घाटा भएकाले भारतीय पक्षले मूल्यवृद्धि हुने बताए। यसको प्रत्यक्ष असर ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट नेपाल भित्रिरहेको १ सय ६० मेगावाट बिजुलीमा पर्नेछ ।यही पुस ५ र ६ गते नेपाल–भारत ऊर्जा सचिव स्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठक बस्ने तय भएको थियो । तर, भारतले बिजुलीको मूल्य बढाउने प्रस्ताव गरेपछि सो बैठकसमेत रोकिएको छ ।

भारतको सर्वोच्च अदालतले गत नोभेम्बर १७ देखि पेटकोक र फर्नेस(तेल प्रशोधन) प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धन आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएको थियो । टनकपुरबाट विद्युत् आयात बन्द भएपछि केन्द्रीय प्रसारण लाइनमार्फत पश्चिम नेपालतर्फ खपत हुने विद्युत् पूर्वतर्फबाट पठाइएको छ, जसले गर्दा काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका प्रमुख सहरमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरण स्रोतले बताएको छ ।

यही डिसेम्बरमा पिपिएको म्याद सकिने भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको भविष्यसमेत अन्योलमा परेको छ । नयाँ सरकार गठन नभएको अवस्थामा कामचलाउ सरकारले राष्ट्रिय महत्व धेरै राख्ने निर्णय गर्न असम्भव हुने भन्दै ऊर्जामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले जोखिम लिन चाहेनन् । भारतबाट बिजुली आयातमा कमी भएसँगै नेपालमा लोडसेडिङको सम्भावना उच्च भएको छ ।

LIVE TV