जाजरकोट । जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ ।
सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यलयले आफँै हटाउन शुरु गरेको हो ।अतिक्रमणकारीले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेर ३०० घरटहरा निर्माण गरेका छन् । उनीहरुले पक्की घरसमेत निर्माण गरेका छन् । पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका–३ को थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहरा हटाउन शुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिनुभयो ।
अतिक्रमण गरी निर्माण गरिएका संरचना आफैँ हटाउन फेरि एकपटक सूचना जारी गर्ने र त्यस्को अटेर गरे वन कार्यालयले आफैँ हटाई अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने वन अधिकृत पटेलले बताउनुभयो । सूचनाको अटेर गरी बजारको मुख्य चोकमै घर निर्माण कार्य थालेकी एक महिलालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरेर नगर क्षेत्रभित्रका अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । रासस