४ पुष २०७४, मंगलवार

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले सबै गरिब र असहाय परिवारलाई मृत्युपछि किरियाखर्च स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपाद पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलले भने हामीले गुल्मीका विभिन्न स्थानमा सुन्दै आएका छौँ कि मृत्यु हुँदा गरिब परिवारका सदस्यहरुले चन्दा उठाएर किरिया खर्च जुटाउनु परेको कुरा । त्यसैलाई दृष्टिगत गर्दै त्यस्ता परिवारलाई दश हजार रुपैयाँ तत्काल उपलव्ध गराउने निर्णय गरेका हौँ ।’ उनले गाउँपालिकाको पहिलो काम गरिबी निवारण, आधुनिक र व्यवसायीक कृषि र अन्य सीप विकासबाटै रोजगारी सिर्जना गर्ने बताए ।

गाउँबासीका समस्यासँग स्थानीय सरकारले सम्बोधन गर्दै नमुना धुर्कोट गाउँपालिका निर्माण गर्ने उदेश्यले गाउँकार्यपालिकाले यस्ता निर्णयहरु गरेको गाउँपालिका प्रमुख पोखरेलको भनाई छ । गाउँपालिकाले यसअघि खरका झुपडीमा टिनको छाना लगाई दिने अभियान, कटुवाललाई तलव दिने निर्णय गरिसकेको छ ।

LIVE TV