४ पुष २०७४, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले रसुवागढीदेखि काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म जोडिने रेलमार्गलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

हेलिकोप्टरमार्फत् मंगलबार रसुवा आएका ओलीले अब बन्ने सरकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषित रसुवागढी हुँदै लुम्बिनी जोड्ने रेलमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।

नेपाल र चीन जोड्ने एक मात्र व्यापारिक नाका रसुवागढीको मितेरी पुलमा पुगेर ओलीसहित एमाले नेताहरूले रेल आउने बाटोको अवस्थाबारे जानकारी लिएपछि ओलीले टिमुरेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। एमाले अध्यक्ष ओलीले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विस्तार गरिनेसमेत बताएका छन्।

रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय विस्तारसँगै गल्छी–त्रिसूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने घोषणासमेत गरे। ‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्‍याउने गरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो, यो नाका अब सबै हिसाबले अन्तर्राष्ट्रियस्तरको बनाइनेछ’, उनले भने, ‘त्यसले गर्दा मानसरोवर जाने तीर्थयात्रुलाई समेत सहज हुनेछ।’

उक्त सडकमार्ग अहिले दुई लेनमा निर्माण जारी छ। चीन सरकारले पनि यो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरिसकेको छ। यसैबीच ओलीले भूकम्पले क्षति पुर्‍याएको रसुवाको लाङटाङ क्षेत्र पुनर्निर्माण तत्काल गर्ने भन्दै दुर्गम जिल्लाको रूपमा रहेको रसुवालाई पर्यटन, जलविद्यु्त् र जडिबुटीको माध्यमबाट समृद्ध रसुवा बनाउने उद्घोषसमेत गरेका छन्।

LIVE TV