४ पुष २०७४, मंगलवार

वीरगञ्ज । पर्सा प्रहरीले दोस्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार भारत, बिहार, कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा, थाना कदवा वडा नं १३ र घर भई हाल दिल्लीमा बस्ने २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँकै २१ वर्षे मुकेश कुमार राय र बाराको महागढीमाई नगरपालिका वडा नं।१ बस्ने ३४ वर्षीय फिरोज राय भाट रिक्सा चालक नागरिकता र मतदाता परिचय पत्र दिने व्यक्ति रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नं ८ घण्टाघर नजिक रहेको पान गल्लीस्थित माँ दुर्गा मनि ट्रान्सफरबाट १ जना तथा अन्य २ जनालाई नारायणी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
मंगलबार बिहान पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद दुई लाख चालिस हजार नेपाली र ५ हजार ४ सय रुपियाँ भारतीय समेत बरामद गरेको छ ।

उनीहरुले सुरुमा विभिन्न व्यक्तिहरुलाई तपाईले चलाएको भाईबर, फेसबुक ट्वीटर लगायत सामाजिक सञ्जाल मार्फत पच्चिस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गर्ने त्यसपछि लट्री बापतको कर नेपाल सरकारलाई तिरेपछि मात्रै लट्रीको रकम तपाईको खातामा जम्मान हुने भन्दै पहिल्यै रकम मागेर ठग्ने गरेको दावी प्रहरीले गरेको छ ।

उनीहरुले प्रभावमा परेका व्यक्तिहरुसँग मनी ट्रान्सफर र बैंक मार्फत पैसा पठाउन लगाउने गरेको प्रहरीले जनाएको छ ।

LIVE TV