४ पुष २०७४, मंगलवार

ओखलढुंगाकै पहिलो जलविद्युत अयोजना मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सफल भएको छ । ७ मेगावाट क्षमताको यस आयोजनाको गत आइतबारदेखि प्रिटेष्ट परीक्षण सुरु भएको हो ।

नियमित बिद्युत प्रसारणको पूर्व तयारी स्वरुप परीक्षण प्रसारण गरिएको मोलुङ जलविद्युत् आयोजना अब भने औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिदैछ । परीक्षण प्रसारणको क्रममा कुनै समस्या देखिए त्यसलाई सुधार गरी सञ्चालनमा ल्याउने निर्णयका साथ प्रसारण थालिएको हो ।

आयोजनाको सुरुवाती चरण देखि २२ महिनाको अवधिमा केही छिटफुट काम बाहेक सम्पूर्ण काम सम्पन्न भएकोले नियमित विद्युत प्रसारणका लागि पूर्व तयारी गरिएको मोलुङ जलविद्युत् आयोजनाले जनाएको छ ।मोलुङ गाउँपालिका ४ हर्कपुर स्थित मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा रहेको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाईनमा जोडिनेछ । त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि एनएमबी बैंकलगायतको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ । वर्षामा ७ र हिउँदमा ३ देखि ४ मेगावाट सम्म विद्युत उत्पादन हुने मोलुङ जलविद्युत् अयोजना सञ्चालनमा आएपछि ओखलढुंगा लोडसेडिङ मुक्त हुने स्थानीयको विश्वास छ ।

LIVE TV