४ पुष २०७४, मंगलवार

धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभामा पराजित भएकी डा आरजु राणा देउवा यतीखेर मतदातालाई धन्यवाद दिन गाँउमा ब्यस्त छिन् । टोलटोलमा सभाको आयोजना गर्दै आरजुले मतदातालाई धन्यवाद दिइरहेकी हुन् ।

आरजुले मंगलवार धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा ३ ओटा धन्यवादसभाको आयोजना गरेकी थिइन्। फूलबारीको वडा नम्बर १४, १८ र १९ मा आयोजित धन्यवादसभामा बोल्दै आरजुले अब यसै क्षेत्रबाट राजनीति गर्ने र जनताले आफूलाई दिएको मतको कदर गर्ने बबताइन् । चुनावमा आफू पराजित भए पनि यस क्षेत्रको विकासका लागि कटिबद्ध भएर लाग्ने उनको तर्क थियो ।

५ वर्षपछि हुने चुनावमा आफू फेरि यही क्षेत्रबाट चुनाव लड्ने पनि यनले बताइन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी मेयर नृप ओड र उपमेयर शुसिला मिश्र भट्टलाई साथमा लिएर आरजुले धन्यवादसभाको आयोजना गरिरहेककी हुन् ।

उनले धनगढी उपमहानगरपालिकाका सबै वडासहित क्षेत्र नम्बर ५ का गाउँमा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिनिधिसभाको चुनावमा आरजु एमालेका नारदमुनी रानासँग ४ हजार ८ सय ४८ मतले पराजित भएकी हुन्।

LIVE TV