४ पुष २०७४, मंगलवार

काठमाडौं । कर्त्तव्य ज्यान लगायत अन्य मुद्दाका फरार अभियुक्त रेशम चौधरीलाई सवौच्च अदालतले सक्कल फाइल मगाएको छ । प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै सर्वोच्चमा दर्ता गराएको रिटमा अभियोगपत्र लगायतका फाइल मगाउने आदेश दिएको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले दर्ता गर्न अस्वीकार गरेको रिट विरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले आज सक्कल फाइल मगाउने आदेश गरेको हो।

कैलालीको टीकापुरमा आठ जनाको ज्यान जानेगरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भए पनि चौधरी फरार रहँदै आएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएपछि उनले वारेस मार्फत विजयी भएको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट दर्ता गर्न खोज्दा प्रशासनले दरपीठ गरेको थियो।

सर्वोच्च अदालत प्रशासनले कर्त्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने भन्दै रिट नै दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै सक्कल फाइल निवेदकबाट पेश गर्न र उक्त फाइल हेरेपछि दर्ता गर्ने वा दर्ता अस्वीकारको निर्णय सदर गर्ने विषयमा निर्णय गर्ने भएको छ।

सर्वोच्चले निर्णय नगरेसम्म चौधरीले विजयी भएको प्रमाणपत्र लिने विषय अन्योलमै रहने भएको छ।

फरार रहँदाकै अवस्थामा वारेसनामा मार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई वारेस बनाउँदै प्रमाणपत्र लिन पठाएका थिए। तर, जिल्ला निर्वाचन कार्यालयले आफैं उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। निर्वाचन कार्यालयले निर्वाचित भएको व्यक्ति कर्त्तव्य ज्यान मुद्दामा आरोप लागेको भन्दै निर्वाचन आयोगमा प्रमाणपत्र पठाएको थियो।

केन्द्रीय निर्वाचन कार्यालयमा प्रमाणपत्र आएपछि चौधरीले सर्वोच्चमा वारेस मार्फत रिट दर्ता गराउन ल्याएका थिए। तर, सर्वोच्च प्रशासनले अदालतको प्रक्रिया नै स्वीकार नगरेका चौधरीलाई वारेस मार्फत प्रमाणपत्र दिन माग गरिएको रिट दर्ता गर्न नमिल्ने भन्दै अस्वीकार गरेको हो।

मुख्य रजिस्ट्रार नकुल सुवेदीले दरपीठ गरेको आदेशमा भनिएको छ, ‘कर्त्तव्य ज्यान, ज्यान मार्ने उद्योग लगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालत उपस्थित समेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन।’

०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।

प्रतिनिधिसभा निर्वाचनमा राजपाबाट उम्मेदवार बनेका चौधरीले कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गरिमा शाहलाई २१ हजार मतको अन्तरले पराजित गरेका थिए।

LIVE TV